सुर्खेतमा निर्णायक बन्दै नयाँ मतदाता, कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा



प्रकाश पन्त, वीरेन्द्रनगर

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुर्खेतमा वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ। स्थानीय तहको चुनावको आधारमा कांग्रेसभन्दा वाम गठबन्धन करिब १६ हजार मतले अघि भए पनि पछिल्लो पटक थपिएका २० हजार नयाँ मतदाता चुनावमा निर्णयक हुने देखिएको छ। नयाँ मतदातालाई जसले आकर्षित गर्न सक्यो उसैले चुनाव जित्ने आकलन गरिएको छ।

गत वैशाख महिनामा भएको स्थानीय तहका उम्मेरदवाले पाएका मतका आधारमा १६ हजार मतले कांगे्रसभन्दा वाम गठबन्धन अगाडि छ। स्थानीय तहको निर्वाचनमा जिल्लाभर कांग्रेसले ५४ हजार ५ सय ६८ मत, एमालेले ५२ हजार ७८७ मत र माओवादीले १८ हजार ९८३ मत प्राप्त गरेका थिए। लोकतान्त्रिक गठबन्धमा सहभागी राप्रपाले १ हजार ४ सय १३ मत ल्याएको थियो। स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने वाम गठबन्धनको भोट ७१ हजार ७ सय ७० छ भने भने लोकतान्त्रिक गठबन्धनको ५५ हजार ९ सय ८१ भोट रहेको छ।

लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन १५ हजार ७ सय ८९ मतले अघि छ। तर पछिल्लो पटक सुर्खेतमा २० हजार १ सय ७७ जना नयाँ मतदाता थपिएका छन्। यसपालिको चुनावमा नयाँ मतदाना नै निर्णय हुने देखिन्छ। स्थानीय तहको चुनावमा सुर्खेतमा १ लाख ८४ हजार ४ सय मतदाता रहेकोमा अव संघ र प्रदेशको चुनावमा २ लाख ४ हजार ५७७ जना मतदाता पुगेका छन। त्यसैले संघ र प्रदेशको चुनावमा थपिएका नयाँ मतदाता नै निर्णयक हुनेछन्।
वाम गठबन्धनले कांग्रेसभित्र मेलमिलाप र एमाले माओवादीभित्र असन्तुष्टी पैदा गरेको छ। गठबन्धनका कारण उम्मेरदवारका आकांक्षी एमाले माओवादीका नेताहरूलाई सन्तुष्ट बनाउनु मुख्य चुनौती हुने देखिन्छ। भने कांग्रेसभित्र विगतका चुनावमा हुँदै आएको अन्तरघातलाई दोहोरिन नदिनु पनि उत्तिकै चुनौती देखिन्छ।

सुर्खेतमा निर्वाचन क्षेत्र नं १ मा १ लाख १ हजार ६३७ जना र क्षेत्र न २ मा १ लाख २ हजार १४० जना मतदाता छन्। क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा ४४ हजार ३४७, प्रदेशसभा ‘ख’ मा ५७ हजार २९० मतदाता रहेका छन्। क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा ५६ हजार २६७ र प्रदेशसभा ‘ख’ मा ४६ हजार ६७३ मतदाता छन्। सुर्खेतमा १९ दलले मंसिर २१ गते हुने चुनावमा प्रतिस्पर्धा गर्नेछन्।

कांग्रेसको गढका रुपमा चिनिंदै आएको सुर्खेतमा यसपटकको चुनावमा कांग्रेसलाई आफ्नो विरासत जोगाउनुपर्ने बाध्यता छ भने वाम गठबन्धन कांग्रेसको गढ भत्काउने दाउमा छन्। एकल प्रतिस्पर्धामा सहज रुपमा जितको नजिता निकाल्दै आएको कांग्रेसलाई एमाले माओवादीको मिलनले यसपालि निकै चुनौती थपिएको छ।

कांग्रेस र एमालेबीच २०४८ सालबाट नै चुनावी प्रतिस्पर्धा हुँदै आएको थियो। २०४८ सालको चुनावमा २ वटै क्षेत्र कांग्रेसले जितेको थियो। त्यसपछि सुर्खेत ३ वटा क्षेत्र बनेको थियो। २०५१ सालमा ३ वटा क्षेत्रमध्ये २ क्षेत्र नं १ र ३ कांग्रेस र क्षेत्र न २ एमालेले जितेको थियो। त्यसपछि २०५६ सालमा भएको निर्वाचनमा ३ वटै क्षेत्र कांग्रेसले जितेको थियो। २०६४ सालको संविधानसभामा एमालेले २ वटा र माओवादीले एउटा क्षेत्र जित्दा कांग्रेस भने खाली हात भएको थियो। दोस्रो संविधानसभा चुनावमा ३ वटै क्षेत्र कांग्रेसको पोल्टामा परेको थियो। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुर्खेतका ९ मध्ये ६ वटा कांग्रेस र ३ वटा एमालेले जितेको थियो।

अहिले प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेस र वाम गठबन्धन उम्मेदवार चयन गरेर चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नं २ बाट पूर्वसहकारी मन्त्री हृदयराम थानीलाई चुनावी मैदानमा उतारेको छ। यस्तै गठबन्धनबाट एमालेले क्षेत्र न १ बाट पार्टीअध्यक्ष धुव्रकुमार शाही र क्षेत्र नं २ बाट पूर्वपार्टीअध्यक्ष नवराज रावतलाई उठाएको छ। प्रदेशसभाका लागि कांगेसले क्षेत्र नं १ को ‘क’ बाट उपसभापति टेकबहादुर सिंह र ‘ख’ बाट शिक्षक संघका पूर्व महासचिव झकबहादुर डाँगीलाई उतारेको छ।

यस्तै क्षेत्र नं २ को ‘क’ बाट पार्टी सभापति कमलराज रेग्मी र ‘ख’ बाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
यता वाम गठबन्धनबाट प्रदेशसभाका लागि क्षेत्र नं १ को ‘क’ बाट ठम्वर विष्ट, ‘ख’ बाट खड्क खत्री तथा क्षेत्र नं २ को ‘क’ बाट पूर्वपर्यटन मन्त्री यामलाल कँडेल र ‘ख’ बाट विन्दमान विष्ट चुनावी मैदानमा छन्। खत्री र कँडेल एमालेबाट तथा ठम्वर र विन्दमान माओवादी केन्द्रबाट वाम गठबन्धनका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्