आर्सेनल अर्को चरणमा



 

लन्डन, (एजेन्सी)
युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा बराबरी खेल्दै इंग्लिस टोली आर्सेनल अर्को चरणमा प्रवेश गरेको छ।

समूह ‘एच’को खेलमा सर्बियाको रेडस्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले पनि आर्सेनलले अर्को चरणमा ठाउँ सुरक्षित गरेको हो। उक्त बराबरीको नतिजासँगै आर्सेनल चार खेलमा १० अंक बटुल्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको हो।
घरेलु टोली आर्सेनलले खेलमा गोल गर्ने केही उत्कृष्ट अवसरहरू पाए पनि चुकेका थिए। स्ट्राइकर ओलिभर गिरौड र मिडफिल्डर ज्याक विल्शेरले पाएको अवसरलाई गोलमा परिणत गर्न नसकेपछि आर्सेनलले एक अंकमै चित्त बुझाउनु परेको हो।

यसैगरी समूह ‘ई’को खेलमा अर्को इंग्लिस टोली एभर्टनको भने लियोनसँग ३–० को हार बेहोर्दै अर्को चरणमा पुग्नबाट वञ्चित भएको छ। पहिलो हाफसम्म गोलविहीन बनेको उक्त खेलमा लियोनलाई जित दिलाउन खेलको ६८औं मिनेटमा ट्रोरेले पहिलो गोल गरेका थिए। यस्तै खेलको ७६औं मिनेटमा आओर र ८८औं मिनेटमा डिपेयले एक–एक गोल आफ्नो नाममा लेखाए। उक्त हारसँगै इभरर्टन समूह चरणबाटै बाहिरिएको हो।

यसैगरी रसियाको जेनिथ सेन्ट पिटर्सवर्ग र रोमानियाको स्टावा बुखारेस्ट पनि प्रतियोगिताको अन्तिम ३२ भित्र पर्न सफल भएका छन्। समूह ‘एल’मा रसियाको जेनिट सेन्ट पिटर्सबर्ग शीर्ष स्थानमा रहेको छ। बिहीबार भएको खेलमा रोजेनबर्गसँग १–१ गोलको बराबरी खेल्दै ४ खेलबाट पिटर्सबर्गले १० अंक जोडेका हुन्। यसै समूहमा रहेको भार्दर भने रियल सोसिडाडसँग ३–० ले पराजित भएपछि चार खेलबाट अंकविहीन हुँदै बाहिरिने पक्का भएको छ। यसैगरी समूह ‘जी’मा रहेको स्टावा बुखारेस्टले पनि चार खेलबाट १० अंक जोड्दै अर्को चरणमा प्रवेश पाएको हो।

यसैगरी समूह ‘ए’को खेलमा स्लाभिया प्रागलाई २–० ले हराउँदै स्पेनको भियारियलले पनि समूहको शीर्ष स्थान ओगटेको छ। जितसँगै भियारियलले चार खेलबाट ८ अंक जोडेका छन्। यस समूहमा चार खेलबाट एक अंक जोडेका माकाबी तेल अभिभ प्रतियोगिताबाट बाहिरिएका छन्। बिहीबार राति नै सम्पन्न अन्य खेलमा फ्रान्सको निसलाई १–० ले हराँउदै समूह ‘के’बाट इटालीको लाजियो र स्विट्जरल्यान्डको योङ ब्वाईजलाई १–० ले हराउँदै समूह ‘बी’बाट युक्रेनको डाइनामो किभ पनि अन्तिम ३२ उक्लेका छन्।

प्रतिक्रिया दिनुहोस्