एथ्लेटिक्स फिजिक्समा उदाउँदै रजनी



 

कविरस शर्मा

केही महिना अघि काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले दोस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता आयोजना गरेको थियो । जसमा महिला एथ्लेटिक्स फिजिक्समा नेपाल व्यायाम मन्दिरकी रजनी श्रेष्ठले पहिलो स्थान हासिल गरिन । ११ प्रतिस्पर्धीलाई हराउँदै उनले उपाधिसहित २० हजार नगद तथा अन्य उपहार समेत हात पारेकी थिइन् ।

जितबाट प्राप्त हुने पुरस्कारभन्दा पनि रजनीले पाको उमेरमा एथ्लेटिक्स फिजिक्समार्फत उदियमान खेलाडीको रुपमा परिचय बनाउन सफल भइन् । हेर्दा पाको नदेखिएकी उनी उमेरले ३४ बसन्त छोइसकेकी भए पनि उनको स्फुर्तिको राज व्यायाम नै हो । महिला एथ्लेटिक्स फिजिक्समा प्रथम अन्तर्राष्ट्रीय पदक हासिल गरेकी ननिता महर्जन पनि यसै प्रतियोगिताको पहिलो संस्करणबाट उदायकी खेलाडी हुन् ।

ननिताबाटै प्रेरित रजनीले पनि तीन वर्ष अघि मात्र ब्यायामलाई आफ्नो दैनिकीको रुपमा जोडेकी छिन् । जसको प्रतिफल उनले यस प्रतियोगिताको दोस्रो संस्करणमा पहिलो स्थान जितेर करिअर सफल बनाइन् । कुनै पनि ब्यक्तिका लागि ३० वर्षपछिको उमेर ब्यायामका लागि सहज हुदैन ।

शारिरिक कठिनाईहरु नै यसको प्रमुख चुनौती हो । अझ त्यसमाथि पनि नेपाली महिला खेलाडीको हकमा यो उमेरमा प्रतियोगिताको लागि नै लक्षित गरेर आफूलाई तयार पार्नु भनेको फलामको च्यूरा चपाउनु सरह नै हो । तर ती सबै चुनौतीहरुसँग जुधेर रजनीले जुन सफलता हासिल गरिन् त्यसको श्रेय आफ्नो श्रीमान समीर श्रेष्ठलाई दिन चाहन्छिन् ।
ललितपुर निवासी रजनी पारिवारिक जिम्मेवारी र गृहस्थी जीवनमा बाधिंदै आएपनि श्रीमान समीर श्रेष्ठ र ससूरा धर्म श्रेष्ठको साथले नै यहाँ सम्म पुर्याएको उनी बताउँछिन् । पछिल्लो समय नेपाली महिलाहरुमा ब्यायामप्रति रूचि बढ्दै गएपनि शारिारिक सुगठन प्रतियोगिताहरुमा भने पुरुषहरुको तुलनामा महिलाहरुको सहभागिता कमै देखिन्छन् । नियमित ब्यायाम गरेपनि पारिवारिक असहयोग र अझै विधमान सामाजिक बन्देजका कारण कतिपय नेपाली महिलाहरु शारिारिक सुगठन खेल प्रतियोगितामा सहभागी हुँदैनन् ।

तर रजनीको हकमा भने यसलाई विपरित मान्न सकिन्छ । उनले सफलताको श्रेय आफ्नो परिवारलाई दिन्छिन् । विशेषतः उनका श्रीमान समीरले नै उनलाई व्यायामप्रतिको मोह जगाएको बताउँछिन् । उनले भनिन– “ मेरो ससूरा र श्रीमान दुवै ब्यायाममा रुचि भएका ब्यक्तिहरु हुन् । एकप्रकारले ब्यायाम घरको माहौलसंग नै जोडिएको थियो । सुरुका दिनमा मलाई व्यायामको बेसिकहरु मेरो श्रीमानले नै सिकाउनु भएको थियो । विस्तारै व्यायाममा जम्न थालेपछि मात्र उहाँकै सहयोगमा म जिमखाना जान थालेकी हुँ ।“

शारिारिक सुगठन मेहनतका साथसाथै खानपिनमा पनि बढी नै ध्यान दिनुपर्ने खेल हो । अन्य समयमा एक घन्टा र प्रतियोगिताको समयमा बिहान र बेलुका गरी दैनिक तीन घन्टा कसरत गरेकी रजनीसँग खानपिनको सन्दर्भमा जिज्ञासा राख्दा प्रतियोगिता आउन एक महिना अघि देखि नूनरहित खाना खाएको बताईन् । यो बाहेक उनले करिब डेढ महिना अघिदेखि उसिनेको खानामा नै केन्द्रित भएको राज खोलिन् ।
१७ वर्षीय छोराको आमा रजनी मोरंग मधुमल्लाका स्थानीय बासिन्दा हुन् । दुर्गम क्षेत्रमा जन्मे पनि उनले ब्यायाम क्षेत्रको विकासका लागि आफ्नो जन्मथलोमा जिमखाना पनि खोलेकी थिइन् । जिमखाना खोलेपछि सुरुका दिनमा ब्यायाम गर्न स्थानीयहरुको ओइरे लागेको भएपनि अहिले त्यसो नभएको उनी बताउँछिन् । ब्यायामप्रति स्थानीयमा देखिएको कम चासो र आफ्नो ब्यस्त समयका कारण उनले अहिले जिमखाना नै बन्द गरिसकेका छन्।

घरेलु प्रतियोगितामा स्वर्ण जितेकी उनी यतीमा नरोकिने बताइन् । ढ़ृढ संकल्प रहेको रजनीको अहिले अन्तराष्ट्रीय प्रतियोगितामा नेपाललाई पदक दिलाउने योजना रहेको छ । महिला एथ्लेटिक्स फिजिक्सको अन्तराष्ट्रीय प्रतियोगितामा नेपालको तर्फबाट पदक जित्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् । जसमा नेपालकै जेठो ब्यायामशाला नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान र प्रशिक्षकहरुको सक्दो सहयोग र निर्देशनले थप उर्जा थपेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्