रियल मेड्रिडलाई हराउँदै टोटनह्याम प्रीक्वाटरमा



 

लन्डन, (एजेन्सी)
यूएफा च्याम्पियन्स लिग अन्तर्गत समूह एच बाट इङ्लिस प्रिमियर लिग टोली टोटनह्याम हट्सपोरले प्रिक्वाटरमा स्थान पक्का गरेको छ ।

बुधबार राति वेम्ब्ली रंगशालामा भएको खेलमा घरेलु टोलीले डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडलाई ३–१ गोल अन्तरले स्तब्ध तुल्याउँदै अन्तिम १६ स्थान सुरक्षित गर्यो । टोटनह्यामको शानदार जितमा डेले अल्लीले दुई गोलको योगदान गरेका थिए । खेलको २७औँ मिनेटमा केरियन ट्रिप्पिएरको पासमा अल्लीले गोलको खाता खोलेका थिए ।

पहिलो हाफसम्म एक गोलले अघि रहेको टोटेनह्यामले डेली अल्लीको ब्यक्तिगत दोस्रो गोल मार्फत खेलको ५६औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए । डी एरिया नजिकैबाट उतकृष्ट प्रहार गर्दै अल्लीले टोटनह्यामको अग्रता दोब्बर पारेका थिए ।

यसै गरी खेलको ६५औँ मिनेटमा टोटनह्यामले काउन्टर–एट्याकमा सिर्जना गरेको अवसरलाई गोलमा परिणत गरेको थियो । हेरी केनको पासमा क्रिस्टियन एरिक्सनले उत्कृष्ट गोल गर्दै टोलीलाई ३–० को अग्रतामा राखेका थिए । रियलले खेलको ८०औं मिनेटमा एक गोल फर्काउन सफल भयो । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियलका लागि फर्काएको उक्त सान्त्वना गोलमा आफ्नो नाम लेखाउन सफल भए । जितसँगै टोटनह्याम ४ खेलमा १० अंकसहित नकआउट चरणमा पुग्दा रियलले अर्को चरण पुग्न कम्तिमा अर्को खेलसम्म कुनुपर्ने भएको छ । यसै समूहमा रहेका बोरुसिया डर्टमन्ड र एपोएल निकोसियाले १–१ गोलको बराबरी खेल्दै अंक बांडे । डर्टमन्ड र निकोसियाको चार खेलबाट समान दुई–दुई अंक रहेको छ ।
सिटी पनि अन्तिम १६ मा
च्याम्पियन्स लिगको समूह ‘एफ’ अन्तर्गतको खेलमा जित्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति इटालियन सिरी ए क्लब नेपोलीलाई ४–२ गोलअन्तरले हराएर सिटीले नकआउट पुग्ने ढोका खोलेको थियो । यसै खेलमा गोल गरेर सर्जियो अगुएरो सिटीका सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।
आक्रामक सुरुवात गरेको नेपोलीले खेलको २१औँ मिनेटमै अग्रता लिएको थियो । ड्रायस मर्टेन्सको पासमा लोरेन्जो इन्सिन्याले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ३४औं मिनेटमा इल्के गुन्डोगनको क्रसमा डिफेन्डर निकोलास ओटामेन्डिले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

४८औं मिनेटमा सिटीका लागि जोन स्टोन्सले हेडमार्फत गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए । तर लेरोय सानेको फलमा पाएको पेनाल्टीलाई फ्रेलो फिल्होले गोलमा परिणत गरेपछि नेपोलीले फेरि बराबरीमा पुग्यो ।

बराबरी गोल फर्काएको सात मिनेटपछि नै अगुएरोले काउन्टर–एट्याकमा गोल गर्दै सिटीलाई खेलमा पुनः अग्रता दिलाए । उक्त गोलसँगै अगुएरो म्यानचेस्टर सिटीको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बने । खेलको इन्जुरी समयमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले ४–२ को सहज जित आत्मसात गर्यो ।

चार खेलमा १२ अंक बटुल्दै सिटी समूह एफ को अग्रस्थानमा रहँदा तीन अंकका साथ नेपोली तेस्रोमा छ । यसै समूहको अर्को खेलमा युक्रेनको शख्तार डोनेस्कले नेदरल्यान्ड्सको फेयेनूर्डलाई ३–१ ले हराउँदै ९ अंक बटुल्न सफल भएको छ । शख्तार समूह दोस्रो स्थानमा रहेको छ ।

लिभरपुल र सेभियाको जित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको समूह ई को खेलमा इङ्ल्यान्डको लिभरपुलले स्लोभेनियाको मारिबोरलाई ३–० ले हराउँदा स्पेनको सेभियाले पनि रसियाको स्पार्टा मस्कोलाई २–१ ले पराजित गर्यो । यस समूहमा चार खेलबाट आठ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहंदा दोस्रो स्थानको सेभियाको समान खेलबाट सात अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्