च्याम्पियन्स लिगमा नयाँ इतिहासः लेविन कुरजावा बने ह्याट्रिक गर्ने पहिलो डिफेन्डर



एजेन्सी, गएराति च्याम्पियन्स लिगको समूह ‘बि’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई ५–० ले पराजित गरेको छ । पिएसजीको जितमा डिफेन्डर लेभिन कुरजावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन् । यस अघिका च्याम्पियन्स लिगमा डिफेन्डरको साइडबाट कसैले पनि ह्याट्रिक गरेको थिएन ।

खेलको ३० औँ मिनेटमा किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजीले अग्रता लिएको थियो। त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा डि(बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेयमारले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पिएसजीले थप ३ गोल गर्दा तीनै गोल डिफेन्डर लेभिन कुर्जावाको नाममा रह्यो । ५२ औँ मिनेटमा कुरजावाले खेलको आफ्नो पहिलो गोल गरे र ७२ औँ मिनेटमा हेडिङमार्फत गोल गर्दै खेललाई ४–० को अग्रतामा पुर्याएका थिए ।

त्यस्तै ७८ औँ मिनेटमा कुर्जावाले बक्स भित्रबाट गरेको प्रहारले उनले आफ्नो ह्याट्रिक पूरा गर्न सफल भएका थिए । यस प्रदर्शनसँगै उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेका छन् ।

त्यस्तै समूहको ‘बि’ को अर्को खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २–१ ले पराजित गरेको छ । बायर्नको जितमा किङ्स्ली कोम्यान र जाभि मार्टिनेजले गोल गरेका थिए ।

शतप्रतिशत नतिजा कायम गरिरहेको पिएसजी र ४ खेलमा ९ अंक बटुलेको बायर्न अन्तिम १६ मा छनोट पनि
भएका छन् । एन्डरलेक्ट र सेल्टिकको छनोटको आशा भने बायर्नसँगको हारसँगै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्