नेपालका खेलाडी सेमिफाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
ललितपुरमा जारी केशा ग्रुप एनएलटीए एसियन यू–१४ रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा नेपालका खेलाडीहरू सेमिफाइनलमा पुगेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न क्वार्टरफाइनल खेल जित्दै ब्वाइज सिंगल्सतर्फ आर्यन गिरी, आदित सुवेदी अन्तिम चारमा प्रवेश गरे। त्यस्तै गल्र्स सिंगल्सतर्फ प्रेरणा कोइराला, सलोनी तामाङ र रायना शाहले अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए। तर नेपालका आदित्य सुवेदी भारतका गर्व बहलसँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएका थिए।
प्रतियोगिताअन्तर्गत दोस्रो दिन आर्यनले नेपालकै चिराग तिमिल्सिनालाई ६–०, ६–० ले ह्वाइटवास गर्दै अन्तिम चार सुरक्षित गरेका थिए। त्यस्तै आदितले नेपालकै आरभ हाडालाई हराउन तीन सेट खेल्नुपरेको थियो। उनले सो खेल ६–४, २–६, ६–० ले जितेका थिए।

यसैगरी प्रेरणाले आफ्नै राष्ट्रकी ईशा श्री शाहलाई ६–१, ६–० ले हराउँदा सलोनीले नेपालकी शर्बानी श्रेष्ठलाई ६–१, ४–६, ६–४ ले पन्छाएकी थिइन्। त्यस्तै रायनाले पनि नेपालकी लुमु लामालाई ६–०, ६–१ ले पराजित गरिन्। गल्र्सतर्फ स्नेहा यादव भने भारतकी रिया मथारूसँग सहजै पराजित भइन्।

प्रतिक्रिया दिनुहोस्