सडक दुर्घटना र जिम्मेवार पक्षहरू



एच.के. श्रेष्ठ

नदी तर्दा बगाएर, भिरपखेरीमा घाँस काट्दा लडेर, घर तथा वरिपरि चिप्लिएर, साइकलबाट, हवाईजहाज वा यातायात दुर्घटना आदिका जेसुकै कारणले अत्यधिक संख्यामा दिनहुँ मृत्युका घटनाहरू अटुट छन्। विश्वका मृत्यु हुनेमध्ये लगभग ८० प्रतिशत मृत्यु दुर्घटनाबाट हुने गर्दछ। त्यसमा पनि अत्यधिक मात्रामा हुने मृत्यु सडक दुर्घटना नै हो। नेपालमा पनि पूर्व मेचिदेखि पश्चिम महाकाली, पहाडदेखि तराईसम्म प्रत्येकजसो दिनमा सानो–ठूलो सडक दुर्घटना नभएको पाइँदैन। साइकलदेखि १० चक्के लरीसम्मका दुर्घटनाका खबरहरू मुख्य समाचारमा पर्ने गर्दछन्। पछिल्लो तीन वर्षको तथ्यांकअनुसार दैनिक ४० सवारी दुर्घटना पर्ने र पाँच जनाको ज्यान जाने गरेको छ। २०७२ मा सांसद शिवजी यादवको संयोजकत्वमा गठित ‘सडक दुर्घटना उपसमिति’को प्रतिवेदनले प्रत्येक वर्ष १८ सय जना सवारी दुर्घटनाबाट मृत्यु हुने बताएको छ। कहिले डढेलधुरा, कहिले जाजरकोट, कहिले सुर्खेत, कहिले धादिङ, कहिले काभ्रे, धनकुटा त कहिले चितवनका विभिन्न खडकखण्डहरूमा दुर्घटनाका बीभत्स घटना भएका हामीले सुनिरहेका छौं। मृत्युलाई दैवको खेलमात्रको रूपमा नलिईकन निम्न कारणहरू औंल्याउन सकिन्छ।

भौगोलिक विसंगति, कमजोर सडक र भ्रष्टाचारः
पहाडैपहाडले घेरिएका हुँदा उकालो, ओराले, घुम्ती, भीर, पखेरा, चुचुरा, भन्ज्याङजस्ता भौगोलिक विसंगतिले सवारीसाधनलाई निकै अप्ठ्यारो र जोखिमका साथ हाँक्नुपरेको हुन्छ। थोरै यताउता पर्नासाथ दुर्घटना हुने भइराखेको छ। अर्कोतर्फ सडकहरू विकसित मुलुकहरूमा जस्तो सम्पूर्ण आवश्यक ट्राफिक सर्तसहितको सहज खालका छैनन्। सडकका अवस्था हेर्ने हो भने खल्टाखुल्टी, कालोपत्र उप्किएको, भास्सिएको, जीर्ण अवस्थाको आदि नाजुक अवस्थाको पराकाष्ठामा पुगेको देखिन्छ। त्यस्तो हुँदा पनि मर्मत–सम्भार समयमै भएको हुँदैन। अवस्था त्यसो हुनुमा सडक भ्रष्टाचार उत्तिकै जिम्मेवार छ। घूस, कमिसनखोर र भ्रष्टाचारका कारण टेन्डर प्रक्रियादेखि निर्माण प्रक्रियासम्म प्रभाव परेको हुन्छ। जसका फलस्वरूप सडक निर्माण डुब्लिकेट तथा झाराटारुवा ढंगले हुने गर्दछ। कलबोर्टहरू बनाएर नसकिँदै भत्कन थाल्छ। कामदारदेखि ठेकेदारसम्मले नाफा खाने हुनाले आवश्यक सामान, मसला, समय आदि पूरा गरेको हुँदैन।

चालक र चेतनाको प्रवाहः
सडकको सवारीचालक त्यसमा पनि अत्यन्त जटिल भौगोलिक स्वरूप भएको नेपालजस्तो मुलुकमा सवारी चलाउने काम निकै जोखिमसँग संवेदनशील कार्य हो। सेकेन्डको तजबिजमा मान्छेको ज्यान नै जान सक्ने यस्तो पेसामा अत्यन्त होसियार, इमानदार, सहनशील, नैतिकवान् र इन्टेलिजेन्ट तथा परिपक्व मान्छे ड्राइभर हुनुपर्ने जरुरी छ। तर यो देशमा त्यसो होइन, ठीक विपरीत अवस्था छ। समाजमा प्रायः मानसिकता पढ्न धेरै नसकेका केटाहरूको गतिलो पेसा ड्राइभर नै हो भन्ने छ। त्यसमा पनि उमेर, अनुभव र व्यवहारले अपरिपक्व युवाहरू ड्राइभर पेसामा देखिन्छन्। कोही त आक्रोशित स्वभाव र जिद्घी बानीका व्यक्तिहरू ड्राइभर पेसामा छन्, जसका कारण सवारी लाइनमा अरु गाडीहरूले हलका यताउता गर्दा त्यसलाई पेल्न खोजेको हुन्छ। परिणामतः दुर्घटना निम्तिन्छ। उसले नतिजा, प्रभाव या असरको गम्भीर ढंगले लेखाजोखा गर्ने मतलव राख्दैन र त्यसो हुन जान्छ। उमेरले कच्चा हुँदा ट्राफिक दायरा बुझ्न पनि सक्दैन, न त गाडी थाम्न नै।

त्यसो त आधुनिक समाजमा मान्छेको दिमाग अत्याधुनिक मेसिन चलेझैँ चेतनाको प्रवाह (स्ट्रीम अफ कन्सस्नेस) ले तीव्र घुमिरहेको हुन्छ। ट्राफिक नियम, बाटोको अवस्था र गाडीको कन्डिसनतर्फ एउटै मात्र ध्यान केन्द्रित भई सवारी चलाउनुपर्ने यो पेसाका मान्छेमा दिमाग विभिन्न काम, परिस्थिति, आसय, स्थान आदिका भीडभाडले ग्रसित हुँदा दुर्घटना पर्दछ। आजकालका ड्राइभरहरू एकातिर गाडी चलाउँदै गर्दा उसको ध्यान हजारतिर तानिएको हुन्छ। जस्तै– तरुनीको विषयमा सोच्नु, घरका समस्याहरूका याद गर्नु, मोबाइल फोनमा बिजी हुनु, बजेका म्युजिकतिर ध्यान जानु, फलानो ठाउँमा कहिले पुगौंला र जाँड, केटी आदिको रिल्याक्स गरौंला भन्ने सोचहरू दिमागमा प्रवाह भइरहनु। यी कारणहरू सवारी दुर्घटनाका बलिया कारणमा पर्दछन्।

आर्थिक कारणः
खासगरी पुँजीवादको खुला प्रतिस्पर्धाको यो युगमा भौतिकवादले ग्रसित मान्छे पैसाको पछाडि दौडिरहेका छन्। धनको अनेक दृश्यले हरेक मान्छेको मानसिकतालाई शासन गरिरहेको हुन्छ। बसवालाहरू यसबाट अछुतो छैनन्। पैसा कमाउने होडबाजीले एउटाले अर्कोलाई उछिन्न लापरबाह किसिमले गाडी दौडाउने गर्दछन्। प्रायः नाइट गाडीहरूमा दुई–तीनवटा ड्राइभर आवश्यक छ, जसले पालैपालो सुत्ने र चलाउने होस् र दुर्घटना नपरोस्। तर कतिपय गाडी साहुले पैसा बचत गर्न जति लामो दूरी भए तापनि एउटै ड्राइभर व्यवस्था गरेका कारण लामो दूरीको नाइट गाडी चलाउदा ऊ थकाइ र निद्राले ग्रसित हुन गई दुर्घटना पारेको पाइन्छ। पैसाको लोभले धेरैजसो गाडीमा क्षमताभन्दा बढी मान्छे र सामान लादेर ओभरलोड गराउनु पनि दुर्घटनाको कारण हुने गर्दछ।

थोत्रो गाडी र मादक पदार्थः
अधिकांश गाडीहरूको पार्टपूर्जा डुब्लिकेट, पुरानो र थोत्रो चलेको पाइन्छ। विदेशतिर निश्चित मापदण्डमा गाडीहरू सञ्चालन भएको हुन्छ। निश्चित वर्षको अवधिसम्म मात्र गाडी चलाउन पाइन्छ। गाडीको अवस्था जीर्ण भएपछि त्यसलाई ब्यान्ड नै गरिन्छ तर हाम्रो देशमा त्यस्तो छैन। जतिसुकै पुरानो गाडी पनि रोडमा चलिरहेको हुन्छ। त्यसमाथि कच्ची बाटोमा थोत्रो गाडी गुड्दा मेसिनरी समस्या झ्याप्पै आउँछ र दुर्घटना निम्त्याउँछ।

थुप्रै ड्राइभरहरूको बानी मादकपदार्थ सेवन गर्ने परेको छ। यात्रा स्वयं रिल्याक्सको अनुभूति गराउने पक्ष हो। त्यसलाई पुरक बनाउने काम रक्सीले गर्दछ। त्यसले अझ जोश चलाउने र उक्साउने हुँदा गाडीको गति कन्ट्रोल र घेरामा रहँदैन अनि दुर्घटना हुने गर्छ।

सिन्डिकेट प्रणालीः
गाडी सञ्चालनमा सिन्डिकेट प्रणाली आलोचित भइरहँदा सरकार सञ्चालनमा समेत यो लागू भएको छ। तर सिन्डिकेट प्रणाली कति घातक छ भन्ने कुरा उपत्यका ट्राफिक महाशाखाले दिएको प्रतिवेदनले पुष्टि गरेको छ। देशभर हुने गरेको सवारी दुर्घटनाको ९० प्रतिशत दुर्घटना सिन्डिकेटकै कारण भएको प्रतिवेदनले बताएको छ। यो आलोपालो प्रणालीले गर्दा बल्लतल्ल पाएको पालोमा भएभरका यात्रु र सामान कोचेर राख्ने हुँदा दुर्घटना निम्तिने हुन्छ।

ट्राफिक व्यवस्थापन र जनावरलगायतको अवरोधः
सेकेन्डको यताउताले दुर्घटना हुन सक्नेजस्तो अति संवेदनशील ड्राइभिङ कार्यमा ट्राफिक नियम, संकेत र अन्य व्यवस्थापनले निकै भूमिका खेल्दछ। हाम्रो देशका यातायात मार्गमा यसको तमाम कमजोरी पाइन्छ। सडकमा सांकेतिक लाइट र सिम्बलहरू राख्ने, घुम्ती र खतराजनक ठाउँहरूमा उचित बार लगाउने आदि काम हुन सकेको छैन। अर्कोतर्फ ट्राफिक नियम पालना गर्न एक त चलाउनेहरूमा हेलचक्रयाइँ भइरहेको हुन्छ, अर्को कतिपय युवा चालक तथा अनुभवहीनहरूलाई सम्पूर्ण नियमसम्बन्धी जानकारी नै छैन। सामान्य साइड लाइट दिन नजानेकै कारण पनि कैयौं दुर्घटना भएको देखिन्छ। अनुमतिपत्र वितरणमा भएको भ्रष्टाचार यसको कारक हो। कैयौं रोडमा पैदल यात्रुले जथाभावी बाटो काट्ने समस्या पनि छन्।
साँगुरो सडक अनि सडकको क्षमताभन्दा बढी गाडी गुड्नुले सडक कमजोर हुँदै गएको हुन्छ। सरोकारवाला निकाय, व्यक्ति वा स्टेक होल्डरहरूमा आपसी समन्वयको अभाव छ। सडक च्यापेर घर बनाउने, निर्माण सामग्री थोपर्ने, सामाजिक, सांस्कृतिक क्रियाकलापहरू गर्ने, सडक प्रयोग तथा कब्जा गर्ने र बन्द–हड्तालका बेला सडकमा ढुंगामुढा तथा रुख ढालेर छोडिदिने गरेका कारण सडक अव्यवस्थित हुने गर्छ। यसले पनि दुर्घटना निम्त्यिाउँछ।

त्यसो त विभिन्न ठाउँमा सडकभरि घरपालुवा वा जंगली जनावरहरू हिँड्ने, दौडने र बसिदिने गरेको हुन्छ। कतै विनालाइट सवारीसाधन रोकिदिने गरेको आदि सबै तत्वहरूले साधारणदेखि बीभत्स दुर्घटना निम्त्याउँदै आएको छ। उता ट्राफिक व्यवस्थापनमा नियमन, निषेधात्मक र सूचनाजस्ता तीनै पक्षको तालमेल उचितरूपमा हुन सकेको छैन। कतिपय अप्रत्यक्ष र अदृश्य कारक स्रोतहरूको पहिचान हुन सकेको छैन वा पहिचान भएर पनि राज्य तथा सम्बन्धित क्षेत्र तथा निकायहरूले व्यवस्थापन र नियञ्त्रण गर्न असफल भएको देखिन्छ। सडक दुर्घटनाका कारणहरू यस्ता धेरै हुन्छन्। यसमा सम्बन्धित निकायहरूले ध्यान पुर्याउने हो भने दुर्घटनालाई अवश्य न्यून गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्