गाउँ पस्दै उम्मेदवार



नानीराम नेपाल, सिन्धुपाल्चोक

एक–अर्काबीच ‘पानी बाराबार’ झैं को अवस्थामा पुगेका दलहरूले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरी उम्मेदवारी दिए। प्रमुख दुई वाम शक्ति नेकपा एमाले र माओवादी केन्द्रले तालमेलअनुसार नै सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता गरेका हुन्। त्यस्तै नेपाली कांग्रेस र राप्रपा प्रजातन्त्रिकले पनि संयुक्तरूपमा उम्मेदवारी दर्ता गरेका छन्।


उत्साहपूर्ण उमेदवारी दर्ता गरेसँगै दलका उमेदवारहरू गाउँ–गाउँमा पस्न थालेका छन्। गठबन्धनका उमेदवारहरू सँगसँगै चुनावी कार्यक्रम लिएर मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्। वाम गठबन्धनले जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रमा संयुक्त भेला तथा प्रशिक्षणका कार्यक्रम गरिरहेको छ भने प्रजातान्त्रिक गठबन्धनले पनि संयुक्त भेला गरिरहेको छ। ‘गठबन्धनको सन्देश तल्लो तहसम्म पुर्याउन संयुक्त कार्यकर्ता भेला गरिरहेका छौं’, माओवादी केन्द्रका जिल्ला नेता माधव सापकोटा (सुबोध) ले भने– ‘हामी गठबन्धनबिरुद्धका भ्रम चिर्न गाउँ–गाउँमा जाँदै छौं।’  वर्तमान सञ्चारमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र पूर्वसञ्चारमन्त्री एवं माओवादी केन्द्रका प्रभावशाली नेता अग्निप्रसाद सापकोटा आमने–सामने छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सापकोटा र बस्नेत चुनावी भिडन्तमा छन्। बस्नेतले राप्रपा प्रजातन्त्रिकसँगको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् भने सापकोटाले वामपन्थी गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। पूर्वसञ्चारमन्त्री सापकोटा र बस्नेत राजनीतिक जीवनमा पहिलोपटक आमने–सामने भएका हुन्। संविधानसभाको पछिल्लो निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट बस्नेत विजयी भएका थिए भने सापकोटा २ नम्बर क्षेत्रबाट विजयी भएका थिए। दुई संविधानसभा निर्वाचनमा पराजित भएका एमाले नेता अरुण नेपाल यसपटक प्रदेशसभाका लागि चुनावी मैदानमा छन्।

एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल योपटक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा उमेदवारी दिएका उनलाई टक्कर दिनका लागि उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य तातोपानी नाकाका व्यापारी विष्णु खत्री चुनावी मैदानमा छन्। त्यस्तै प्रतिनिधिसभा १ नम्बर क्षेत्रको २ नम्बर प्रदेशमा वाम गठबन्धनबाट एमालेका नेता सुरेश नेपाल चुनावी मैदानमा छन्। उनीसँग उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ कांग्रेसबाट चुनावी मैदानमा छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले कांग्रेससँगको गठबन्धनमा उम्मेदवारी दर्ता गराए। वामपन्थी गठबन्धनबाट एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ राणासँग चुनावी मैदानमा छन्। तामाङ र राणा चौथोपटक चुनावी प्रतिस्पर्धामा छन्। तत्कालीन एमाले विभाजन हुँदा मालेबाट उम्मेदवार भएका तामाङ पहिलो र दोस्रो संविधानसभामा लगातार क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका थिए। २०७० को संविधानसभा निर्वाचनमा तामाङले राणालाई पराजित गरेका थिए। उनै तामाङसँग योपटक राणाको भिडन्त हुँदै छ।

क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा वाम गठबन्धनबाट माओवादीका युवा नेता युवराज दुलाल मैदानमा छन्। उनीसँग प्रजातान्त्रिक गठबन्धनबाट कांगे्रसका विकास तामाङ प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ मा वाम गठवन्धनबाट माओवादी नेता एवं पूर्वसभासद् दावा तामाङ चुनावी मैदानमा रहेका छन् भने प्रजातान्त्रिकबाट कांग्रेसकानिमा तामाङ उनीसँग चुनावी प्रतिस्पर्धामा छन्।

जो चर्चामै सीमित रहेप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारको चर्चामा रहेका प्रभावशाली नेताहरू अन्ततः ब्याक भएका छन्। चुनावी तालमेलले मुख्य गरी एमाले र माओवादीका केही प्रभावशाली नेताको उम्मेदवारीको रहर केवल रहरमै सीमित भएको छ।

नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं संविधानसभा निर्वाचनमा दुई पटक नै १ नम्बर क्षेत्रमा झिनो मतले हार व्यहोरेका अरुण नेपाल अन्ततः प्रतिनिधिसभाको उम्मेदवार बन्न पाएनन्। तालमेलका कारण १ नम्बर क्षेत्रमा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था सिर्जना भएपछि उनलाई ब्याक गराएर प्रतिनिधिसभा १ नम्बर क्षेत्रको प्रदेश (क) को उमेदवार बनाइएको छ। ०६४ को संविधानसभा निर्वाचनमा माओवादीका राजकुमार श्रेष्ठसँग पराजित भएका उनी पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेस नेता मोहनबहादुर बस्नेतसँग झिनो मतले पराजित भए। र, अहिले प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन्। प्रतिनिधिसभा उम्मेदवारको चर्चामा रहेका उनी प्रदेशसभाको उम्मेदवार बनेका हुन्। माओवादी केन्द्रका युवा नेताद्वय माधव सापकोटा र सरल सहयात्री पौडेल पनि यसपटकको चुनावमा उम्मेदवारको चर्चामै सीमित रहे। प्रतिनीधिसभा क्षेत्र नम्बर १ का दुई प्रदेशसभाको उम्मेदवारको चर्चामा रहेका उनीहरूलाई अन्ततः तालमेलले ब्याक गरायो। गठबन्धनमा १ नम्बर क्षेत्रका दुवै प्रदेश एमालेलाई छाड्नुपर्ने अवस्था आएपछि उम्मेदवारको चर्चामा रहेका उनीहरू व्यवहारतः उम्मेदवार बनेनन्।

नेकपा एमालेका प्रभावशाली नेता बालकृष्ण देउजा  यसपटक पनि उम्मेदवारी पाउनबाट वञ्चित बनें। यसअघि स्थानीय तह निर्वाचनमा मेलम्ची नगरपालिकामा मेयरको उम्मेदवारबाट अन्तिम समयमा ब्याक भएका उनी यसपटक पनि वाम तालमेलका कारण ब्याक हुन पुगे। २ नम्बर क्षेत्रको प्रदेशसभा सदस्यको उम्मेदवारका चर्चामा आएका उनी अन्ततः उम्मेदवार भएनन्। गठबन्धन मिलाउने क्रममा प्रतिनिधिसभा २ नम्बर क्षेत्रको प्रदेश (क) र (ख) नै माओवादीलाई दिनुपर्ने भएपछि देउजाको सम्भावना टरेको थियो।
गठबन्धनका कारण जिल्लामा प्रभावशाली मानिएका कांग्रेस नेताहरूले पनि मैदान खाली गर्नुपरेको छ। राप्रपासँगको गठबन्धनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ पशुपतिशमशेर राणालाई अघि सारिएपछि कांग्रेस जिल्ला सभापति विकास लामा अन्ततः ब्याक भए।

स्थानीय तहमा ‘हेभिवेट’ व्यवस्थापनले एमालेलाई सहज जिल्लामा प्रभाव जमाएका र पार्टीको उपल्लो कमिटीमा रहेका नेताहरूको स्थानीय तह निर्वाचनमा नै व्यवस्थापन हुँदा एमालेलाई उम्मेदवार छनोटमा सहज देखियो। स्थानीय तह निर्वाचनमा एमालेले हेभिवेट नेताहरूलाई उम्मेदवार बनाई चुनावमा गएपछि एमालेलाई अहिले उम्मेदवार छनोटमा सजिलो भएको एक नेताले बताए। स्थानीय तहमा हेभिवेट नेताको व्यवस्थापन नगरेको भए गठबन्धनमा उम्मेदवार छनोटको किचलो यतिमात्र हुने थिएन। प्रदेशसभामा लड्ने हैसियत बनाएका धेरै नेताहरू स्थानीय तहमै व्यवस्थापन भइसकेका छन्। ‘जित्नेहरू स्थानीय तहको नेतृत्वमा हुनुहुन्छ, हार्नेहरूले आकांक्षा राख्नुभएन’, एमालेका एक नेता भन्छन्– ‘यस कारण पनि गठबन्धन मिलाउन र नेता व्यवस्थापनमा सहजता भयो।’

प्रतिक्रिया दिनुहोस्