‘खल्ती खर्च’ को कमाल



 

काठमाडौं उपत्यका र मुलुकको पूर्वी भेगलाई जोड्ने वैकल्पिक मार्गका रूपमा सञ्चालनमा रहेको बिपी राजमार्गमा सवारी चाप निकै बढेको छ। सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न शुरूदेखि नै ‘टाइमकार्ड’ को व्यवस्था गरिएको थियो। यससँगै यातायात व्यवस्था विभागले गत साउन पहिलो सातादेखि काभ्रेको नेपालथोकदेखि सिन्धुलीको भीमानसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक सवारी चलाउन रोक लगायो।

यातायात व्यवसायीलाई चित्त नबुझ्या विभागको सो विशेष निर्णय धरहरालाई भने निकै मन पर्यो। मध्य रातिसमेत निगरानीमा बसेका सुरक्षाकर्मी र ट्राफिकलाई सान्त्वना दिन मन लाग्यो। तर पछिल्लो समयमा सरकारी निर्णय औपचारिकतामा सीमित हुन थालेको देख्दा धरहरा चकित पर्न थालेको छ। कालो नम्बर प्लेटका सवारी त्यसरी रोकिए पनि रातो नम्बर प्लेट अर्थात् निजी सवारी निर्धक्क गुड्न पाउने व्यवस्था रहेछ।

व्यवसायी पनि के कम, सिकाउनै नपर्ने। कालोको विकल्प रातो छँदै छ। छिट्टै गन्तव्यमा पुर्याउने बहानामा यात्रुलाई महँगो शुल्क पनि लिन पाइने। चाडवाड आसपासको समयमा मध्य राति सेतो नम्बर प्लेटका सवारीसमेत देख्दा गडबडको गन्ध महशुस गर्न गाह्रो नपर्ने। त्यति मात्रै कहाँ हो र ? यसो मौका छोपेर सुरक्षाकर्मीलाई ‘खल्ती खर्च’ दिएपछि कालै नम्बर प्लेट पनि मध्यरातमा सरर।

 

प्रतिक्रिया दिनुहोस्