कहिलेसम्म पीडा



 

शनिबार धादिङको घाटबेंसीमा भएको दर्दनाक बस दुर्घटनाका कारण सप्तरीको तिलाठी यति बेला शोकमग्न छ । दुर्घटनाले पूरै सप्तरीबासी शोकाकूल छन् । दुर्घटनामा परेर निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय निकायले मातहतका सबै कार्यालय बन्द गरेका छन् । यस्तै शोक मनाउन जिल्लाभरिका शिक्षण संस्था बन्द गरिएका छन् भने जिल्लाका प्रमुख बजारहरू पनि सुनसान देखिएका छन् । मदन झाको परिवारमा निकै ठूलो वज्रपात परेको छ । दुर्घटनामा झा परिवारका ८ सदस्यको ज्यान गएको थियो । झाका छोरा आदित्य, छोरी सिमी, पूजा, भाउजू चन्द्रावतीका साथै तिलाठी निवासी ज्वाइँ सञ्जीत, उनका कान्छा भाइ मञ्जित, नाति अभिनव र प्रतीक गरी ८ जनाको ज्यान गएको हो । झा परिवार मात्र होइन यति बेला पूरै सप्तरी नै शोकमग्न छ । प्लास्टिकका बोरामा सजिएका शवको लर्कोले मृतकका आफन्तहरू मूच्र्छा परेको दृश्य कम कारुणिक छैन ।

एम्बुलेन्समा सञ्जीतसहित एकै परिवारका ५ जनाको मृत शरीर ल्याइएपछि गाउँभरि रुवावासी चलेको छ । दुर्घटनामा २ छोरा २ नाति र बुहारी गरी ५ जना गुमाएका ८० वर्षीय पिता रामानाथ पनि मूच्र्छित हुने र बौरिने गर्न थालेका छन् । सप्तरीमा मात्रै २७ जनाको मृत्यु भएको छ ।

नदीको भेलमा बेपत्ता बनेका तिलाठीका पूजा झा र उनका पाँच वर्षीय छोरा प्रतीक तथा चालक सन्तोष चौधरीको खोजी कार्य यथाशीघ्र गरिनुपर्दछ । यसमा ढिलाइ गरिनु कदापि पनि क्षम्य हुने छैन । के कति कारणले दुर्घटना भएको हो यसको सत्यतथ्य रूपमा छानविन गरिनुपर्दछ । दुर्घटना न्यूनीकरणका उपाय अवलम्बनमा सरकारले ढिलाइ गर्नुहुँदैन । दुर्घटनामा परी अकालमै यसरी धेरैले जीवन गुमाउनु किमार्थ राम्रो पक्ष मानिँदैन । यसले हाम्रो देशको यातायात सेवा कत्तिको भरपर्दो छ भन्ने कुरा छर्लंग पारेको छ । आफन्तले शव बुझेसँगै आ–आफ्नो रीतिरिवाज तथा संस्कृति र परम्पराअनुसार दाहसंस्कार अन्त्येष्टि गर्ने व्यवस्था मिलाउन सबै एकजुट हुनुपर्ने बेला आएको छ । सुनसान देखिएको सप्तरीलाई फेरि खुसी ल्याउने पहल गर्नुपर्दछ।

राष्ट्रपति तथा प्रधानमन्त्रीले शोक व्यक्त गरेर मात्रै सप्तरीबासीमा खुसी आउनेवाला छैन । मृतकका परिवारलाई काजकिरिया खर्च तथा क्षतिपूर्ति दिलाउने कार्यमा एक रत्ति पनि ढिला नगरी अघि बढ्नुपर्छ । गृह मन्त्रालयले सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । यो समितिले छिटोभन्दा छिटो छानविन गरी यथार्थ विवरण सार्वजनिक गरोस् पीडितको घाउमा मलम लगाओस् । यस्तो दुर्घटनाको सिकार कहीं कोही हुन नपरोस् ।

प्रतिक्रिया दिनुहोस्