नेप्सेमा सुधार



 

काठमाडौं, (नेस)
तिहारको बिदा पछिको पहिलो कारोबार लगानीकर्ताका लागि सुखद् बनेको छ। साता तथा तिहारपछिको पहिलो दिन नेप्से परिसूचकमा ३ दशमलव ५७ अंकको सुधार आएको हो।

यसअघि तिहार बिदाको अन्तिम दिन शेयर बजार ९ दशमलव १७ अंकले बढ्दै उकासिने संकेत देखाएको थियो। बिदापछि खुलेको शेयर बजारमा परिसूचक शून्य दशमलव २३ प्रतिशतको सुधार आउँदा कारोबार रकममा भने ६ करोड रुपियाँभन्दा बढीको गिरावट आएको थियो।

आइतबार बजारमा ३६ करोड ९३ लाख रूपैयाँको कारोबार भयो। यस क्रममा बजारमा १ सय ४६ कम्पनीका ८ लाख ७२ हजार ३ सय ३० कित्ता शेयर किनबेच भए। कारोबार रकम अघिल्लो कारोबारको भन्दा ६ करोड ३२ लाख रुपियाँ कम हो। तिहार बिदाको अघिल्लो दिन बजारमा ४३ करोड २५ लाखको कारोबार भएको थियो।

आइतबार १ हजार ५ सय ६८ दशमलव ३५ अंकबाट शुरू भएको बजार खुल्ने वितिक्कै उकालो लागेको थियो। सवा १२ बजेसम्म १ हजार ५ सय ८६ अंकसम्म पुगेकोमा त्यसपछि उतारचढाव हुँदै परिसूचक १ हजार ५ सय ७१ दशमलव ९२ अंकमा पुगेर रोकियो। नेप्से परिसूचक बढ्दा आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९ अंकले बढेर ३ सय ३१ अंकमा पुगेको छ।

आइतबार कारोबारमा आएका ८ समूहमध्ये ५ समूहमा सुधार आए। बढ्नेमा अन्य समूह सर्वाधिक १ दशमलव ३२ प्रतिशतले बढ्यो। त्यस्तै वित्त समूह शून्य दशमलव ७४ र जलविद्युत समूह शून्य दशमलव ७२ प्रतिशतले बढ्यो। बैंकिङ र विकास बैंकका परिसूचक पनि क्रमशः शून्य दशमलव २२ र शून्य दशमलव १३ प्रतिशतले बढ्यो।

घट्नेमा सबैभन्दा धेरै होटल समूह १ दशमलव ९२ अंकले घट्यो। त्यस्तै बीमा र ट्रेडिङ समूह पनि क्रमशः शून्य दशमलव १३, शून्य दशमलव शून्य ७ प्रतिशतले घटे। अंकको आधारमा जलविद्युत् समूह सबैभन्दा धेरै १३ दशमलव ४८ अंकले बढ्दा होटल समूह ४६ दशमलव ५३ अंकले घट्यो। आइतबार उत्पादनमूलक समूहतर्फ कुनै कम्पनीको कारोबार भएन।

आइतबार सबैभन्दा धेरै कारोबार चिलिमे जलविद्युत् कम्पनीको शेयरको भयो। कम्पनीका ५३ हजार ३ सय ६१ कित्ता शेयर ४ करोड ८६ लाख ७३ हजार ७ सय ९६ रुपियँँमा किनबेच भए। आइतबार धेरै कमाउनेमा अरूण कावेली पावर लिमिटेडका शेयरधनी रहे। कम्पनीको शेयर मूल्य सर्वाधिक ६ दशमलव ६९ प्रतिशतले बढ्दा सिन्धु विकास बैकका शेयरधनीले सर्वाधिक ३ दशमलव शून्य १ प्रतिशत गुमाए।

आइतबार सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीमा वुटवल पावर, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर, छिमेक लघुवित्त विकास बैंक, एनआइसि एशिया बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, एसिसि बैंक, सन राइज बैंक र प्रभु इन्स्योरेन्स रहे।

प्रतिक्रिया दिनुहोस्