निर्वाचन सफल बनाउन जुट



 

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन उत्साहपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो चरणमा सम्पन्न हुने उच्च पहाडी तथा हिमाली ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा मनोनयन भएको हो । मुख्य दलहरूले बाजागाजासहित मनोनयन दर्ता गएका थिए । झन्डै ४० दलले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि हुन लागेको पहिलो प्रदेशसभा निर्वाचनले स्थानीय निकायलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको छ । पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा,
दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ । बिहानैदेखि दलका कार्यकर्ता पार्टीका झन्डा लिएर दलको कार्यालयमा जम्मा भएका थिए । ठूला राजनीतिक दलमा भने कसले ठूलो जुलुस निकाल्ने भन्ने प्रतिस्पर्धाजस्तै चलेको थियो ।

शान्तिपूर्णरूपमा सम्पन्न भएको मनोनयन दर्तापछि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू गाऊँ प्रवेशको तयारीमा छन् । नेपालीहरूको दुई ठूला पर्व दशैँ र तिहार सकिएका कारण मतदाता पनि चुनावी माहौलमा सहभागी हुन आतुर देखिन्छन् । कामको सिलसिलामा देशका विभिन्न भागमा पुगेकाहरूमध्ये केही अझै उतै रहेका कारण चुनावी माहोल तात्न थालेको आभास भएको छ । स्थानीय निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराएको निर्वाचन आयोगले अबको दुवै निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न आफूहरूले सबै तयारी पूरा गरेको जनाउनुले आगामी निर्वाचन पनि शान्तिपूर्णरूपमा सम्पन्न हुने अपेक्षा गर्नु स्वाभाविक मान्नुपर्छ ।

पहिलो चरणमा सम्पन्न हुने निर्वाचन सफल बनाउन सबैभन्दा ठूलो भूमिका राजनीतिक दलकै हुने भएकाले निर्वाचन जित्ने भन्दा पनि निर्वाचनलाई शान्तिपूर्ण बनाउनेतर्फ लाग्नु उनीहरूको कर्तव्य र दायित्व हो । ६ दशक लामो नेपाली जनताको चाहनालाई अब हुने निर्वाचनले पूरा गर्नेछ । नयाँ संविधान कार्यान्वयनका लागि समेत यस निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी निर्वाचन सफल बनाउन सबैजना लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्