परम्परा बन्यो व्यापारको मेसो



 

कविराज नेपाल
हरेक पूजाआजा विवाह, व्रतवन्ध, भोजभतेरमा नेवारी समुदायमा झिनिया रोटी अनिवार्य मानिंदै आएको छ। यही अनिवार्यतालाई व्यापारिक हिसाबले चाडपर्व केन्द्रित गरी यहाँका केही महिलाहरूले व्यावसायिक बनाएका छन्।

भाइटीका पर्व नजिकिँदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। खासगरी ग्रामीण क्षेत्रबाट बजार गर्न आउनेहरूले यसलाई लिएर जाने भएकाले पनि यसको व्यापार बढ्दै गएको व्यापारीको अनुभव छ।

तिहारको लागि तानसेनमा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल , भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरमा समेत बिक्री हुने गरेको छ।

झिनिया रोटी बिक्री गरेर तानसेनका करिब १ सय घरपरिवारले तिहारको अवसरमा आम्दानी गर्ने राम्रो मौका पाएका छन्। तानसेनको वसन्तपुर, टक्सार, मखनटोल, भगवतीटोललगायतका ठाउँमा झिनिया रोटी बनाउने गरिन्छ। व्यवसायीहरूले झिनिया रोटी बेचेर दशैं तिहारलगायतका पर्वमा २० हजारदेखि २ लाख रुपियाँ आम्दानी गर्ने गरेको बताउँछन्।

लामो समयदेखि यसैको व्यापार गरेकी गृहणी मीना श्रेष्ठले तिहारलाई लक्षित गरी दुई महिनाअघिदेखि नै रोटी बनाउन थालेको र अहिले माग पुर्याउन समेत गाह्रो परिरहेको बताइन्।

नेवारी समुदायमा मात्र बढी चलनचल्तीमा रहेको झिनिया रोटी आजकल अन्य समुदायले पनि प्रयोग गर्न थालेका कारण यसको व्यापार व्यवसाय बढेको हो। रंगीबिरंगी झिनिया रोटी अन्य रोटीको दाजोमा आकर्षक देखिएका कारण पनि यसको व्यवसायमा विस्तार हुँदै गएको हो।

झिनिया रोटीका लागि चामल पिसेर मिसिनो पिठो बनाइन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणका लागि विभिन्न थरीका रंग मिसाएर हाते मेसिनबाट बनाउने गरिन्छ। बनाएको सिन्के रोटीलाई घाममा राम्रोसँग सुकाएपछि मात्र बिक्री गरिन्छ। अन्य जातजातिले दशैं तिहारमा मात्र प्रयोग गरे पनि नेवारी समुदायका लागि भने बाहैै्र महिना झिनिया सिन्के रोटी प्रयोग गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्