मौलाउँदो हतारकारिता



 

वर्तमान सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिने भन्ने खबर मंगलबार आगोको सानो झिल्काले क्षणभरमा पूरै खरबारी र आसपासका क्षेत्र विनाश गरेझैं सर्वत्र फैलियो। सामाजिक सञ्जाल र अनलाइनहरू यस्तै खबरले भरिए। यस्तो खबर सुन्ने धेरैले भने– ‘जबरजस्ती सरकारमा बसेर पनि के गर्नु, बाहिरिएकै राम्रो। प्रधानमन्त्री देउवाले काम चलाउ हैसियतमा राख्ने भएपछि इज्जतका लागि पनि सरकार छोडेकै उत्तम।’

माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको देखेपछि धरहरा पनि सो खबरमा विश्वस्त बन्यो। महरा लगत्तै गृहमन्त्री जनार्दन शर्माले पनि पत्रकार सम्मेलन आयोजना गरे, तर उनले आफ्नो पार्टीले सरकार नछोड्ने बताए। आफूहरूलाई हटाएर देउवाले निर्वाचन सार्ने षड्यन्त्र गरेकाले सरकार नछोड्ने पार्टीको निर्णय आएको उनको तर्क थियो।

सरकारको नेतृत्व गरेका महरालाई पार्टीको निर्णय थाहा नहुने, अर्का मन्त्रीले चाहिँ पार्टीको निर्णय यस्तो हो भन्दा धरहरा भने निकै अचम्ममा पर्यो। वर्षाद्का बेला जंगलमा च्याउझैं मौलाएका अनलाइनहरूले बिहानैदेखि ठोकुवाका साथ दिनभर माओवादी बाहिरिने खबर दिएको देख्दा लाग्यो, नेपाली पत्रकारिताकामा ‘हतारकारिता’ निकै मौलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्