न्युरोडका रामदाइ चिरञ्जीवी मास्के



 

‘राम दाइ सुर्ति’,
‘राम दाइ चुरोट’,
‘राम दाइ………’,
न्युरोडका फुटपाथ व्यापारी राम दाइ (रामबहादुर खड्का) लाई बिहानको समय निकै चटारो हुन्छ। सुर्ति, चुरोट, चुईंगम, चकलेट, रिचार्ज कार्ड यस्तै–यस्तै सामान बेच्न भ्याइनभ्याई हुन्छ।

६० वर्ष टेक्दै गरेका रामबहादुर खड्का राजनीतिमा निकै चाख राख्छन्। प्रमुख राजनीतिक दलका नेताप्रति आक्रामक देखिने रामबहादुर खड्का कुनै समय जनप्रतिनिधि थिए। न्युरोडमा फुटपाथ व्यवसाय गर्दै गर्दा राजनीतिमा होमिएका रामबहादुरलाई समयको छालले कालान्तरमा त्यही न्युरोडको फुटपाथमै ल्याएर छोडिदिएको छ। पुरानै फुटपाथ व्यवसायमा।

रामबहादुरले पुराना कुरा सम्झिए, फुटपाथ व्यवसायमा मग्न रहेका बेला २०५४ सालमा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागार्इंले उनलाई गाविस अध्यक्ष उठ्न जोड गरे। न्युरोडको फुटपाथ व्यापारी भए पनि उनको भावना आफ्नै गाउँ दोलखाको क्षेत्रपासँगै जोडिएको थियो। महिना, दुई महिनामा गाउँ पुगेर स्थानीयको सुख दुःखमा साथ दिन्थे उनी, त्यसैले पनि उनलाई पशुपति चौलागाईंको प्रस्तावले आकर्षित गर्यो। न्युरोडको फुटपाथ व्यवसाय श्रीमतीलाई जिम्मा लगाएर उनी स्थानीय निर्वाचनमा सहभागी हुन गाउँतिर लागे।

२०५४ सालको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट चुनाव जितेर उनी क्षेत्रपा गाविसको अध्यक्ष भए। सडक विकासको प्रमुख आधार हो भन्ने बुझेका रामबहादुरले गाविसको मुख्य योजना सडकमा केन्द्रित गरे। त्यसपछि उनको प्राथामिकतामा शिक्षा, स्वास्थ्य र सहकारी पर्यो। पाँच वर्षमा क्षेत्रपाको मुहार फेर्न उल्लेख्य काम गरेको कुरा सगौरव भनिरहेका रामबहादुरलाई राजनीतिबाट टाढा रहनु परेकोमा भने निकै पीडा रहेछ।

राजनीति गर्न चाकडी, चाप्लुसी र पैसा चाहिनेरहेछ रामबहादुरले भने– ‘मसँग यी तीनै कुरा नभएकाले राजनीतिबाट फुटपाथ व्यवसायमै फर्कनुपर्यो।’ निकै हक्की स्वाभावका रामबहादुर स्वतन्त्र ढंगले जनताको माझमा जाने हो भने आफूलाई चाकडी, चाप्लुसी र पैसा तीनै कुराले हराउन नसक्ने ठोकुवा गर्छन्। ‘तर के गर्नु जनतामा जाने बाटै दिएनन्’, रामबहादुरको गुनासो छ २०७४ को स्थानीय तहको निर्वाचनमा पार्टीले नसम्झिएकोमा।

न्युरोडको फुटपाथमा सबैको रामदाइ भएर बस्दा उनी राजनीतिबाट अलग छन् तर उनको गतिविधि र सक्रियता राजनीतिक नेताको भन्दा कम छैन। दैनिक सबैखाले अखबार पढ्ने, देशको अवस्था विश्लेषण गर्दै आफ्नो धारणा बनाउने, गाउँको हरेक गतिविधिमा आफूलाई कुनै न कुनै रुपमा जोडिरहने, रामबहादुर राजनीतिबाट टाढा भएर पनि राजनीति गरिरहेका छन्। अहिलेको राजनीति कमाउने धन्दा बनेको रामबहादुरको बुझाइ छ। २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिसँग जनताले धेरै कुराको अपेक्षा गरेकोले जनप्रतिनिधिले इमान्दारीपूर्वक काम गर्नुपर्ने रामबहादुर बताउँछन्।

२०५४ सालमा थोरै बजेटबाट गाउँको विकास गर्नुपथ्र्यो। ‘शिक्षा, स्वास्थ्यलगायतका काममा गाविसले चाहे जसरी काम गर्न सक्दैनथ्यो तर अहिले सम्पूर्ण अधिकार गाउँपालिकालाई भएकोले काम गर्न सजिलो छ’, –रामबहादुरले भने।

पाँच वर्ष गाविस अध्यक्ष हुँदा उनले आर्थिक रुपमा केही कमाउन सकेनन्। पाँच वर्षमा उनले केवल जनताको माया मात्र कमाए। त्यसैले त उनी छोराछोरीकै लागि भए पनि फुटपाथमै फर्किएका छन्। तर उनलाई यतिबेला निकै पीडा छ। पाँच वर्ष जनताको माझमा रहेर काम गरेर पुनः फुटपाथ व्यवसायमा फर्कंदा मलाई जति पीडा भएको थियो त्योभन्दा कैयन गुणा बढी पीडा श्रीमतीको मृत्युपछि भएको छ

 

पाँच वर्ष गाविस अध्यक्ष हुँदा उनले आर्थिक रुपमा केही कमाउन सकेनन्। पाँच वर्षमा उनले केवल जनताको माया मात्र कमाए। त्यसैले त उनी छोरा छोरीकै लागि भए पनि फुटपाथमै फर्किएका छन्। तर उनलाई यतिबेला निकै पीडा छ। ‘पाँच वर्ष जनताको माझमा रहेर काम गरेर पुनः फुटपाथ व्यवसायमा फर्कंदा मलाई जति पीडा भएको थिया,े त्योभन्दा कैयन गुणा बढी पीडा श्रीमतीको मृत्युपछि भएको छ’, –रामबहादुरले दुखेसो सुनाए।

२०३० सालमा काठमाडौं छिरेका रामबहादुरले शुरूमा पारस होटलमा काम गरे। त्यसपछि फुटपाथ व्यवसायमा लागेका उनले यसैलाई आफ्नो भविष्य बनाएका छन्। ‘पाँच वर्षसम्म राजनीतिमा आफ्नो भविष्य खोजें, तर मजस्तो हकी मानिसले राजनीतिमा भविष्य भेट्दैन रहेछ’, रामबहादुरले भने– ‘त्यसैले आफूले शुरू गरेको फुटपाथ व्यवसायमै फर्किएँ।’ उनले शुरूका दिनमा काठमाडौंमा स्थापित हुन निकै संघर्ष गरे। फुटपाथ व्यवसाय फस्टाउँदै गएपछि गाउँका ३०⁄३५ जना युवालाई पनि काठमाडौं ल्याएर फुटपाथ व्यवसायमा जमाए। आफूले उतिबेला फुटपाथ व्यवसायमा ल्याएका धेरै साथी अहिले ठूलो व्यवसायी बनेको उनी सुनाउँछन्।

‘म त फुटपाथको मान्छे, केही समय राजनीतिले अल्झाइदियो, अहिले फेरि फुटपाथमै आएको छु, – रामबहादुरले सन्तुष्ट भावमा भने। उनको इच्छा केबल एउटा मात्रै छ– ‘काम गरुन्जेल सबैको रामदाइ भइरहन सकियोस्।’

 

प्रतिक्रिया दिनुहोस्