भूकम्पपीडितले छिमेकी जिल्लामा घर बनाउन पाउने



नेपाल समाचारपत्र
काठमाडौं
भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सिमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउने पाउने भएका छन्। भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान तिवरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा परेका भूकम्पपीडितले आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा घर बनाउन पाउने व्यवस्था गरेको हो।

त्यस्तै जोखिमयुक्त वस्तीका लाभग्राहीले पनि आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न दुई लाख र घर बनाउन ३ लाख अनुदान पाउने संशोधित कार्यविधिले व्यवस्था गरेको हो।‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले भन्नुभयो–‘भूकम्पबाट क्षतिग्रस्त आवास भएकै जिल्ला वा सीमाना जोडिएको भूकम्पबाट प्रभावित जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भएमा उल्लेखित अनुदान रकम उपलव्ध गराइने व्यवस्था अनुसार एउटा जिल्लाको भूकम्पपीडितले अर्काे जिल्लामा पनि घर बनाउन पाउनेछन्।’ शर्माले भन्नुभयो–‘उदाहरणका लागि सिन्धुपाल्चोकका लाभग्राही सूचीमा परेको घरधनीले काठमाडौंमा घर बनाउन पाउनेछन्।

तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ। त्यसरी प्रक्रिया पुरा गरेर घर बनाउने लाभग्र्राहीले निजी आवास अनुदान वापत ३ लाख रुपियाँ पाउनेछ। ’ प्राधिकरणको सिफारिसमा सरकारले जोखिमयुक्त वस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिदका लागि दुई लाख रुपियाँ अनुदान दिने निर्णय गरेको थियो। संशोधित कार्यविधीमा भनिएको छ–‘जोखिमयुक्त बस्तीबाट अन्यत्र सार्नुपर्ने भनी किटान भएका घरधनीहरू मध्ये कुनै घरधनीले आफ्नो इच्छाअनुसार सोही जिल्ला वा सीमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थामा बसोबास गर्न चाहेमा उक्त ठाउँमा घर निर्माण गर्न चाँहिने जग्गा व्यवस्था गर्नका लागि अनुदान स्वरूप प्राधिकरणले तोके बमोजिमको प्रक्रिया पूरा गरी दुई लाख रुपियाँसम्म एकमुष्ट उपलब्ध गराइने व्यवस्था गरिएको छ।’

यसैबीच भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख नाघेको छ। निजी आवास पुनर्निर्माणको तथ्यांक अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईको सोमबार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख एक हजार ५ सय १९ पुगेको छ।

जसअन्तर्गत निर्माण सम्पन्न घरको संख्या ५८ हजार ६ सय ५६ र निर्माणाधीन घरको संख्या १ लाख ४२ हजार ८ सय ६३ पुगेको छ। यद्यपि, दशैं तिहारका कारण निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या प्राधिकरणको सूचना प्रणालीमा समाविष्ट हुन बाँकी रहेका कारण यो तथ्यांक अझै बढ्ने प्राधिकरणका इन्जिनियर प्रवीन आचार्यले जानकारी दिनुभयो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि समय सिमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तीव्र भएको आचार्यले बताउनुभयो। आचार्यले भन्नुभयो–‘जिल्लास्थित कार्यालय, जिल्ला कार्यान्वयन इकाई र स्थलगत अध्ययनबाट आगामी पुस मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको संख्या ३ लाख ५० हजार पुग्ने देखिएको छ।’

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको पछिल्लो बैठकको निर्णयअनुसार प्राधिकरणले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पुस समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ। अहिलेसम्म प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा सवैभन्दा धेरै १८ हजार ८ सय ७२ घर निर्माणाधीन अवस्थामा छन् भने ६ हजार १ सय ७५ घर निर्माण सम्पन्न भइसकेका छन्।

जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्यांक संकलन गर्ने कार्य भइरहेको र तिहारपछि उक्त तथ्यांक सूचना प्रणालीमा दर्ता भएपछि यो संख्यामा उल्लेखनीय वृद्धि हुने प्राधिकरणको भनाइ छ। अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ता पाउनका लागि लागि १ लाख ४ हजार ७ सय ४२ लाभग्राहीले निवेदन दिइसकेका छन् भने ९३ हजार ३ सय ५ लाभग्राहीको निवेदन प्रमाणीकरण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्