राति पिसाब लाग्छ भने नून कम गर्न सुझाव



 

यदि कोही राति बिउँझिएर पिसाब फेर्न शौचालय जाने गरेका छन् भने आफ्नो खानामा नूनको मात्रा घटाउन डाक्टरहरूले सल्लाह दिएका छन् । ५० वर्षको उमेर नाघेका ५० प्रतिशतभन्दा बढी मानिसलाई यो समस्या हुने गरेको पाइएको छ । यो सानै समस्याजस्तो देखिए पनि यसको कारण निद्रा बिग्रिँदा तनाव, थकान र चिडचिडेपन हुने डाक्टरहरू बताउँछन् । यससम्बन्धमा हालै बेलायतमा एक अनुसन्धान गरिएको थियो । सो अनुसन्धानले खानामा हल्का परिवर्तन ल्याएको खण्डमा यो समस्याबाट छुटकारा पाउने जनाएको छ । लन्डनमा आयोजित युरोपियन सोसाइटी अफ युरोलोजी कन्फ्रेन्समा जापानी वैज्ञानिकहरूको एक टोलीले तीन महिनासम्म ३ सय २१ जना स्वयंसेवकमाथि यसबारे गरिएको अनुसन्धानको प्रतिवेदन पेस गरेको थियो ।

सो प्रतिवेदनअनुसार ती वैज्ञानिकले मानिसलाई नून कम खान दिँदा तिनीहरूले पिसाब पनि कम गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । २ सय २३ जना स्वयंसेवकलाई २५ प्रतिशत नून कटौती गरी अर्थात् १० दशमलव ७ ग्रामबाट प्रतिदिन ८ ग्राम मात्र नून सेवन गर्न दिँदा तिनीहरूको राति शौचालय जाने क्रम औसतमा २ दशमलव ३ बाट १ दशमलव ४ पटकमा झरेको पाइएको थियो ।

यसको विपरीत ९८ जना स्वयंसेवकलाई चाहिँ प्रतिदिन ११ ग्राम नून सेवन गर्न दिँदा तिनीहरूको पिसाब फेर्ने क्रम २ दशमलव ३ बाट बढेर २ दशमलव ७ पटकसम्म पुगेको पाइएको थियो । आहारविद्हरूले वयष्क व्यक्तिलाई प्रतिदिन ६ ग्राम नून मात्र सेवन गर्न सिफारिस गरेका छन् । अनुसन्धानकर्ताहरूले यदि नून सेवन घटाइएको खण्डमा दिउँसो पनि पिसाब फेर्ने क्रम घट्ने जनाएका छन् ।

यस अध्ययन प्रतिवेदनका लेखक नागासाकी युनिभर्सिटीका डा. मात्सुओ तोमोहिरोले नूनले शौचालय जाने क्रमलाई कति प्रभावित पार्दछ भनी गरिएको विश्वकै पहिलो अनुसन्धान भएको दाबी गरेका छन् । नूनमा पाइने सोडियमले मानवशरीरको तन्तु र रगतमा तरल पदार्थको सन्तुलन कायम गर्न प्रमुख भूमिका निभाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्