जन अदालत



मेरो पनि सुन्दर बन्ने इच्छा पलायो
साधनाको अघिल्लो अंकको चाया–पोतो हटाएर सुन्दर बन्ने रहर शीर्षकको ब्युटिकेयर लेख पढेर खुशी लाग्यो । म एक गृहिणी हुँ । बच्चा भएपछि मेरो अनुहारमा चाया, पोतो, दाग देखिएको ६ महिना जति हुन लाग्यो । आत्तिएको थिएँ, कहिल्यै निको हुँदैन भनेर । साधनामा यसबारे जानकारी पाउँदा ढुक्क भएँ । मैले पनि काठमाडाँैको भरपर्दो डाक्टरकोमा उपचार लिनुपर्ला । यससम्बन्धी जानकारीका लागि साधनालाई धेरै–धेरै धन्यवाद । सौन्दर्य बढाउने जानकारीमूलक यस्ता लेखहरुको अझै अपेक्षा गर्दछु ।
– समिना कार्की, बनेपा, काभ्रे

कागतीको कत्ति धेरै फाइदा
साधनालगायतका पत्रपत्रिकामा डा. अरुणा उप्रेतीका लेखहरु नियमित रुपमा पढ्ने गरेको छु । उहाँका कुरा धेरै उपयोगी र ज्ञानवद्र्धक छन् । कागतीको त्यति धेरै फाइदा थाहा पाउँदा म अचम्ममा परें । आफ््नो भान्सामै पाइने सजिलो औषधिको रुपमा पो रहेछ कागती । यस्ता लाभदायक कुराहरु अरु अंकमा पनि प्रकाशित हुँदै जाऊन् । साथै डा. उप्रेतीका अन्य उपयोगी कुराहरु पनि पढ्ने इच्छा जाहेर गर्दछु ।
– श्रीधर थापा, मलेखु

डाइटिङको आकर्षण
म साधनाको नियमित पाठक हुँ । त्यसमाथि हेल्थ कन्सियस मान्छे हुँ म । मलाई मोटो मान्छे पटक्कै मन पर्दैन । मैले त डाइटिङ भनेको खाना नखानु भन्ने ठानेको थिएँ तर त्यो रहेनछ । डाइटिङ पनि पोषणविद्को सल्लाहले गर्नुपर्ने रहेछ भन्ने बल्ल पो साधानामार्फत थाहा पाएँ । अब म अरुलाई पनि आफूखुशी डाइटिङ नगर्नू भन्ने सल्लाह दिन्छु ।
– सन्ध्या केसी, टाँडी, चितवन

स्वास्थ्यका टिप्सहरु अझ बढाउनुपर्यो
साधनामा स्वास्थ्यसम्बन्धी छोटा–मीठा टिप्सहरुको अलि कमी भएजस्तो लाग्यो । लामा लेखहरु भन्दा स्वास्थ्यसँग सम्बन्धित छोटा–मीठा रोचक कुराहरु पढ्न पाए अझ राम्रो हुनेथियो ।
– सम्झना बुढाथोकी, दाङ

घरेलु उपचार भन्ने स्तम्भ राख्ने कि !
अबको हरेक साधनाको अंकमा घरेलु उपचारसम्बन्धी केही जानकारी राख्ने कि ? हामी जस्ता पाठकहरुले नियमित त्यस किसिमका जानकारी पायौं भने साधना पढ्दा अझ मन प्रफुल्ल हुने थियो ।
– देवकी विष्ट, पर्वत

मानसिक रोगको जालो
मानसिक रोगको बारेमा विविध जानकारी पाउँदा यसबारेमा छर्लंग भएँ । हाम्रो एक छिमेकी पनि त्यस्तै किसिमको बिरामी हुनुहुन्छ तर उपचार पाउन सक्नुभएको छैन । अब म उहाँको परिवारलाई सल्लाह दिनेछु । यसबारेमा छर्लंग पार्नेछु । साधनाले सही सूचना प्रदान गरेकोमा खुशी लागेको छ ।
– रामप्रकाश खड्गी, ढल्पा, कीर्तिपुर

 

 

प्रतिक्रिया दिनुहोस्