स्वारेजद्वारा बार्सिलोनाको उद्वार



 

मेड्रिड, (एजेन्सी)
हारतिर अग्रसर खेलमा लुइस स्वारेजले बराबरी गोल फर्काउँदै बार्सिलोनाको उद्दार गरेका छन्। खेलको ८२औं मिनेटसम्म १–० ले पछि परेको अवस्थामा सर्जी रोर्बेटोको क्रसमा हेडमार्फत स्वारेजले बराबरी गोल फर्काएका थिए। त्यसअघि साउल निगुइजको गोलमा एट्लेटिकोले खेलको २१औं मिनेटमा शुरूआती अग्रता लिएको थियो। बराबरीअघि बार्सिलोनाका स्टार लियोन मेसीको फ्रिकिक गोलपोस्टमा लागेर फर्केको थियो।

बराबरीसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सीलोनाको ८ खेलबाट २२ अंक भएको छ। जारी सिजनमा बार्सिलोना अपराजित नै रहेको छ। समान म्याच खेलेर दोस्रो स्थानमा रहेको रियल मेड्रिड र बार्सिलोनाबीच ५ अंकको फरक भएको छ। अक्टोबर १ मा क्याटालान स्वतन्त्रताको जनमत संग्रहपछि बार्सिलोना पहिलोपटक स्पेनको राजधानी मेड्रिड पुगेको थियो। जहाँ स्पेनिस राष्ट्रिय झन्डासहित सयौंको संख्यामा एट्लेटिकोका समर्थक रंगशालामा उपस्थित रहेका थिए। उनीहरूले बार्सिलोना र स्पेनिस टोलीका रक्षक जेरार्ड पिकेले हरेक पटक बल छुँदा व्यंग्य गरेका थिए। पिकेले जनमत संग्रहको समर्थन गर्दै आएका थिए।
६८ हजार दर्शक क्षमता भएको वान्डामा बार्सिलोनाका समर्थकलाई प्रतिबन्ध गरिएको थियो। बिनासमर्थक बार्सिलोनाले खेल्नुपरेको यो दोस्रो खेल हो। लास पाल्मासविरुद्ध घरेलु मैदानमा भएको खेल बिनादर्शक खेलाइएको थियो। बराबरीपछि १६ अंकसहित एथ्लेटिको मेड्रिड दोस्रो स्थानमा छ।

ला लिगाअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा रियल मेड्रिडले गेटाफेलाई २–१ ले हराएको थियो। खेलको ३९औं मिनेटमा करिम बेन्जेमाको गोलबाट रियलले शुरूआती अग्रता लिएको थियो। तर खेलको ५६औं मिनेटमा जर्ज मोलिनाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। बराबरीतिर अग्रसर उक्त खेलको ८५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियलले खेलमा पुनः अग्रता लियो।

त्यसपछि खेलमा कुनै गोल भएन र रियलले तीन अंक सुनिश्चित गर्यो। रोनाल्डो ५ खेलेको प्रतिबन्धपछि केही दिनअघि मात्र ला लिगामा फर्केका थिए। बार्सिलोनाविरुद्ध अगस्ट १४ मा सुपर कपमा रेफ्रीलाई धक्का दिएपछि रोनाल्डोले ५ खेल प्रतिबन्धमा बिताउनुपरेका थिए। घाइते भएका रियलका स्ट्राइकर गेरथ बेल पनि उक्त खेलमा अनुपस्थित रहेका थिए। ला लिगाअन्तर्गत शनिबार भएका अन्य खेलहरूमा एथ्लेटिक बिल्बाओले सेभियालाई १–० ले हराउँदा रियल सोसिडाडले पनि आल्भेजलाई २–० ले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्