वाटफोर्डसँग आर्सेनल पराजित



 

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले आर्सेनललाई पराजित गरेको छ।
प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सेनलले वाटफोर्डसँग २–१ को हार बेहोरेको हो। वाटफोर्डको घरेलु मैदान भिक्रेज रोडमा भएको उक्त खेलमा आर्सेनलले खेलको ३९औं मिनेटमा मर्टिस्याकरको गोलमार्फत शुरूआती अग्रता लिएको थियो।

पहिलो हाफसम्म एक गोलले अघि रहेको आर्सेनलले खेलको ७१औं मिनेटमा बराबरी गोल बहोर्यो। आर्सेनलका डिफेन्डर हेक्टर बेल्लेरिनले वाटफोर्डका रिचार्लिसनलाई आफ्नो डी एरियामा लडाएपछि पाएको पेनाल्टीलाई वाटफोर्डले पेनाल्टी हान्ने अवसर पाएको थियो। जसलाई परिवर्तित खेलाडी डिनीले गोलमा परिणत गरेका थिए। यसैगरी थपिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा पूर्वम्यानचेस्टर युनाइटेडका खेलाडी टम क्लेभरलीले गोल गर्दै वाटफोर्डलाई महत्वपूर्ण जित दिलाएका थिए। जितसँगै सिजनमा बलियो शुरूआत गरेको वाटफोर्ड १५ अंकसहित तालिकाको चौथो स्थानमा उक्लेको छ। अर्कोतर्फ आठ खेलमा १३ अंक बटुलेको आर्सेनल भने छैठौं स्थानमा झरेको छ।

चेल्सी स्तब्ध
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारै भएको अन्य खेलमा क्रिस्टल प्यालेसले पनि चेल्सीलाई स्तब्ध पारेको छ। खेलको ११औं मिनेटमा चेल्सीका सेजर अज्पीलीसुवेताको आत्मघाती गोलबाट क्रिस्टल प्यालेसले शुरूआती अग्रता लिएको थियो। तर खेलको १८औं मिनेटमा सेच फाब्रिगासको कर्नर प्रहारमा तिमाओ बाकायोकोले हेडमार्फत् गोल गर्दै चेल्सीका तर्फबाट बराबरी गोल फर्काए। खेलको ४५औं मिनेटमा विल्फ्राइड जाहाले प्यालेसको तर्फबाट गोल गर्दै टोलीलाई २–१ ले अघि पारे। खेलको दोस्रो हाफमा भने कुनै गोल भएन र प्यालेसले जित सुनिश्चित गर्यो। जारी सिजनमा प्यालेसको यो आठौं खेलमा पहिलो जित हो। जितसँगै अंक तालिकाको पुछारमा रहेको प्यालेसले सिजनकै पहिलो तीन अंक जोडेको छ। यता हारपछि गत सिजनको प्रिमियर लिग च्याम्पियन चेल्सीका ८ खेलबाट १३ अंक रहेको छ।

शनिबारै भएको अन्य खेलहरूमा म्यानचेस्टर सिटीले स्टोक सिटीमाथि ७–२ ले गोलको भारी बोकाउँदा स्वान्सीले हडर्सफिल्डलाई २–० ले र टोटेनह्याम हटसपोरले बाउर्नमाउथलाई १–० ले पराजित गरेका थिए। यस्तै बर्नले र वेस्टह्यामले १–१ तथा लिभरपुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया दिनुहोस्