एनआरएनको ८औं विश्व सम्मेलन जारी “भिजन २०२०” पारित



 

नेपाल समाचारपत्र
काठमाडौं
गैरआवासीय नेपाली संघले संघको आगामी मार्गचित्रका रूपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रूपमा पारित गरेको छ। काठमाडौंमा जारी संघको ८औं सम्मेलनले वर्तमान अध्यक्ष शेष घलेले पेस गर्नुभएको संघको महत्त्वाकांक्षी मार्गचित्र पारित गरेको हो। आइतबार शुरू भएको संस्थाको बन्दसत्रमा अध्यक्ष घलेले ‘भिजन २०२०’ पारित गर्ने प्रस्ताव र त्यसअन्तर्गत तयार गरी संरचनाको मार्गचित्र पेस गर्नुभएको थियो। मार्गचित्रका विवादित विषय हटाउने सहमति भएपछि प्रस्ताव पारित भएको हो। विवादित बुँदा बाहेकका ‘भिजन २०२०’ पारित गर्न संघका पूर्वअध्यक्ष जीवा लामिछानेले प्रस्ताव गर्नुभएको थियो।

घलेले संघको आगामी दशकको यो मार्गचित्र पेस गर्दै त्यो लक्ष्य हासिल गर्न विभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती प्रस्तावमा हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा बाँड्ने, सचिवालयलाई बलियो बनाउने, संघअन्तर्गत विभिन्न विभाग सिर्जना गरी ती विभागलाई भिन्न–भिन्न पदाधिकारीले नेतृत्त्व गर्ने लगायत रहेको संघकी अन्तर्राष्ट्रिय समन्वय परिषद्को सामाजिक उद्यमशिलता समितिकी को–चियर दिला पोखरेलले बताउनुभयो।

त्यस्तै नीति पैरवीका लागि पोलिसी इस्टिच्युट स्थापना गर्ने र परोपकारी कामका लागि फाउन्डेसन स्थापना गर्ने प्रस्ताव पनि सम्मेलनमा गरिएको छ। घलेको प्रस्तावमा विदेशमा रहेका नेपालीलाई सो फाउन्डेसनमा रकम सहयोग गर्न सहज हुने गरी फाउन्डेसन स्थापना गर्ने पनि रहेको छ। त्यस्तै युथ टान्स्फर्मेसन प्राग्राम चलाउनेलगायत विभिन्न योजना घलेको मार्गचित्रमा उल्लेख भएको पोखरेलले बताउनुभयो। प्रस्तावमाथि धारणा राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समयअनुकूल संस्थामा सुधार र परिवर्तन जरुरी रहेको बताउनुभएको थियो। घलेको मार्गचित्रमा उत्कृष्ट राम्रा प्रस्ताव आएकाले यसमा आफ्नो पूर्ण सर्मथन रहेको उहाँले बताउनुभयो।

यसै गरी संघका पूर्वअध्यक्ष जीवा लामिछाने तथा देवमान हिराचनले पनि संस्थाको सुधारका लागि ल्याइएको यो प्रस्ताव समयसापेक्ष रहेको बताउनुभएको थियो। यसलाई तत्कालै कार्यान्वयनका लागि अगाडि बढाउनुपर्ने उनको भनाई थियो। अध्यक्ष शेष घलेले उठेका प्रश्नमाथि जवाफ दिएपछि हलले एकमतले घलेको प्रस्ताव प्रस्तावलाई अनुमोदन गरेको हो। पोलिसी इन्स्टिच्युट निर्माण गर्ने, संघअन्तर्गत फाउन्डेसन स्थापना गर्नेलगायतका प्रस्ताव सबैलाई मन परेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्