रजस्वलामा प्रयोग गरिएका प्याड संकलन अभियान



 

नयाँ दिल्ली, (एजेन्सी)
भारतमा अझैसम्म पनि समाजमा महिलाहरुको रजस्वलाबारे खुलेर कुरा गरिन्न। त्यस्तो देशमा मासिक स्रावका बेला महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको संकलन गर्ने विचारलाई कसरी लिइन्छ होला भनी कल्पना गर्न पनि गाह्रो छ। तर पाठेघरको मुखको क्यान्सरको सम्भावना पत्ता लगाउने उद्देश्यले पश्चिमी भारतीय राज्य महाराष्ट्रका गाउँहरुमा स्वास्थ्य कार्यकर्ताले यसरी नै प्याड संकलन गरेका छन्।

विश्वका एक चौथाइभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने महिला भारतमै रहेका छन्। तर अझै पनि ग्रामीण क्षेत्रका अधिकांश महिला यस क्यान्सरको परीक्षणका लािग सचेत भइसकेका छैनन्।

यसका प्रमुख कारणमा यस्ता ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधार सुविधाको अभाव र क्यान्सर परीक्षणको चर्को मूल्य पनि हुन सक्छन्। अनुसन्धानकर्ताले क्यान्सर रोकथामका लागि युरोपेली जर्नलमा लेखेका छन्– ‘ग्रामीण महिलाहरु क्यान्सका लागि परीक्षण गराउन डराउने र लजाउने गर्दछन्। साथै तिनीहरु यस्तो परीक्षण आवश्यक पनि ठान्दैनन्। ९० प्रतिशतभन्दा बढी भारतीय ग्रामीण महिलाहरु घरमै बनाइएको रजस्वला प्याड प्रयोग गर्दछन्। तिनीहरु बजारमा पाइने आधुनिक स्यानिटरी प्याड लगाउनु आवश्यक ठान्दैनन्।’

भारतस्थित प्रजनन स्वास्थ्यका लागि राष्ट्रिय अनुसन्धान प्रतिष्ठान तथा टाटा मेमोरियल सेन्टरका अनुसन्धानकर्ताले ग्रामीण महिलाहरुले प्रयोग गर्ने घरेलु प्याडहरुमा पाठेघरको मुखमा क्यान्सर गराउन सक्ने ह्युमन पापिल्लोमा भाइरस (एचपीभी) पाइएको जानकारी दिएका छन्।

उक्त केन्द्रबाट अनुसन्धानको नेतृत्व गर्ने डा. अतुल बुडुखले यस क्यान्सरको जोखिममा रहेका महिलाहरको रोग परीक्षण कार्यक्रममा न्यून सहभागिता रहेको गुनासो बीबीसीलाई गरेका छन्। फलस्वरूप अस्पतलमै आएर जँचाउन आउने सम्भावित रोगी महिलाहरुको आधारमा मात्र तथ्यांक तयार भएको बताइएको छ।

अनुसन्धानको दुई वर्ष लामो अवधिभित्र नियमित रजस्वला भइरहेका क्यान्सरको कुनै पूर्व संकेत नभएका तथा मानसिक र शारीरिकरूपमा पूर्ण स्वस्थ ३० देखि ५० वर्ष उमेरका महिलाहरुले आफ्ना प्याड उपलब्ध गराएका थिए।

तिनीहरुलाई आफ्नो रजस्वलाको पहिलो दिन प्रयोग गरिएको प्याड कुनै पनि सामानइ जिपलक ब्यागमा राखेर स्थानीय स्वास्थ्य कार्यकर्तालाई बुझाउन अनुरोध गरिएको थियो। यसरी संकलित प्याडलाई माइनस २० डिग्री सेल्सियसमा भण्डार गरी ड्राइ आइस कन्टेनरमा राखेर एचपीभी परीक्षणका लागि डायग्नोस्टिक सेन्टरमा पठाइने गरिएको थियो।

यस अध्ययनबाट महिलाहरुका लागि यौनांग सरसफाइ शिक्षाको अति आवश्यक रहेको पत्ता लागेको छ। सन् २०११ मा भारतमा गरिएको तथ्यांक संकलनअनुसार ४१ प्रतिशतभन्दा बढी घरमा बाथरुम छैनन् र भएका बाथरुमको पनि १६ प्रतिशतको छाना नै नभएको पाइएको थियो।
नेपाललगायत एसियाका कतिपय राष्ट्र रजस्वलाका बेला महिलाहरुलाई अपवित्र ठानेर घरबाहिर नै राख्ने कुप्रथा अझै कायमै रहेको छ। वास्तवमा रजस्वलाका बेला महिलाहरुलाई थप सन्तुलित आहार र मानसिक शान्ति तथा मनोरञ्जनको आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस्