प्रोडक्सनमा रमाउँदै कृष्ण



एउटा फिल्म निर्माण भएर रिलिजमा आउनका लागि दर्जनौं हातले पछाडि बसेर सघाइरहेका हुन्छन्। त्यसमध्येको एउटा महत्त्वपूर्ण हात हुने गर्दछ प्रोडक्सन कन्ट्रोलर तथा प्रोडक्सन डिजाइनरको। फिल्मको निर्माण कार्यको शुरूआतदेखि रिलिजसम्म पनि हर तरहले फिल्म निर्मँणलाई अगाडि बढाउन कुनै पनि फिल्म निर्माण कम्पनीमा प्रोडक्सन डिजाइनरको काम महत्त्वपूर्ण हुने गर्दछ। फिल्म निर्माणको लागि सुटिङस्थल र त्यसलाई आवश्यक सामग्रीको व्यवस्था गर्ने, कलाकारहरूलाई स्पटसम्म ल्याउने पुर्याउने, सुटिङ, गीत रेकर्ड, डबिङ गराउने, भान्छा र खानेकुराको व्यवस्था मिलाउने, सुटिङ सेड्युल मिलाउने, फिल्मको निर्मातादेखि, निर्देशकसम्म वा सम्पूर्ण कलाकार र प्राविधिक जुटाइ उनीहरूलाई सघाउनेदेखि व्यवस्थापन गर्नेसम्मको काम प्रोडक्सन डिजाइनरको जिम्मेवारी हुने गर्दछ।

विगत एक दशकदेखि यस्तै जिम्मेवारी पूरा गर्दै आएका छन् भरतपुर चितवनका ३४ वर्षीय कृष्ण कोइराला। एक दशकअघि दिलमा सजाएँ तिमीलाईबाट प्रोडक्सन डिजाइनरका रुपमा नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका कृष्णले यस अवधिमा ४ दर्जन बढी फिल्मको प्रोडक्सनको काम गरिसकेका छन्। ‘फिल्मलाई जतिसक्दो कम बजेटमा व्यवस्थित र सुचारु हिसाबले निर्माण गर्नु हाम्रो जिम्मेवारी हुन्छ’, कृष्ण भन्छन्– ‘यो विधाको काम गर्दा सबैलाई खुसी पार्नुपर्छ। सँगसँगै चुनौती र व्यवधान पनि भोग्नुपर्छ। व्यवधान आइपर्यो भन्दैमा हामीले आत्तिनचाहिँ मिल्दैन। जस्तै चुनौतीलाई पनि चिर्दै सुटिङदेखि रिलिजको अवधिसम्म खटिनुपर्छ।’

ब्रह्मा, च्याम्पियन, रंग बैजनी, जय परशुराम, सुब्बा साव, भुल भुलैयालगायतका फिल्ममा प्रोडक्सन डिजाइनरका रुपमा काम गरिसकेका कृष्णको अनुभवमा केही पहिले फिल्म निर्माण गर्दा प्रोडक्सन डिजाइनर राखिँदैनथ्यो। त्यसैले पनि निर्माता निर्देशकलाई फिल्म निर्माणका लागि प्रोप्रर्टी जुटाउनदेखि अन्य व्यवस्थापन गर्न कठिनाइ पथ्र्यो। ‘निर्माता निर्देशकले नै सबैतिर हेर्नुपर्दा कामको तनाव उनीहरूले बेहोर्नु पथ्र्यो। तर अहिले प्रोडक्सन डिजाइनले नै सबै मिलाइदिने भएकाले निर्माता निर्देशकलाई धेरै सजिलो भएको छ’, –उनी भन्छन्।

कथा तयार भएपछि त्यसको निर्माणदेखि प्रदर्शनसम्मको डिजाइन गर्ने काम आफूहरूको हुने उनले बताए। ‘प्रोडक्सन डिजाइनरले फिल्म निर्माता निर्देशकलाई अन्य विभिन्न सहयोग पनि गर्नुपर्ने हुन्छ। ‘पर्दापछाडि रहेर काम गर्ने प्राविधिकमध्ये प्रोडक्सन डिजाइनर पनि एक प्रमुख अंग हो’, उनी भन्छन्– ‘तर कलाकार र निर्माता निर्देशकको तुलनामा फिल्मको नाममा प्रोडक्सन डिजाइनरको नाम भने त्यति आउँदैन। प्रोडक्सनप्रतिको बुझाइ फराकिलो बन्दै गएकाले अगामी दिनमा कामजस्तै नाम पनि प्राथमिकतामा पर्ला कि?’

प्रतिक्रिया दिनुहोस्