कानले डाक्टर बनायो



कमल ढकाल

राजधानीका धेरै ठाउँमा उहिलेका कुरा खुइलिए भए। देख्ने मान्छे जिउँदै हुँदाहुँदै पहिलेको स्थान र हावापानी भने मरिसक्यो। अनि अहिलेको मान्छेलाई यो ठाउँ यस्तो थियो भन्यो भने कथाझैं लाग्छ। भानुभक्त आचार्यको अलकापुरी नगरीमा जन सागरको बिस्फोटले पहिलेको परिचय बिलुप भएको छ।

कुरा ग्वार्काेको हो। २० वर्षअघि स्याल कुद्ने ठाउँ हो ग्वार्काे। अहिले स्यालभन्दा बढी मान्छे कुद्दै छन्। काँडाघारी फाँडेर बनाएका घर अहिले पनि छँदैछन्। मस्तको फाँटमा लहलहाउँदा बाला झुल्थे। कोटेश्वर अनि सातदोबाटोबीचको हिजोको एकलासको ठाउँ हो ग्वार्काे। दिउँसै चोर लाग्थे। चोर कुटेर मारेकोले नै यो ठाउँको नाम ग्वार्काे बन्यो।
ग्वार्काेको उकालोमा भव्य बिल्डिङ बन्दा मान्छे अचम्मित पर्दथे ऊ बेलामा। भन्थे पनि किन यत्रो बिल्डिङ बनाएको होला ? दिउँसै स्याल कराउने ठाउँमा। आज कायापलट भएको छ। हिजोको भव्य बिल्डिङमा रहेको बी एण्ड बी अस्पताल आज सानो भइसकेको छ।

दुई डाक्टर बी मध्येका एक बी जगदीशलाल वैद्यलाई भेट्नु छ।अस्पतालको भीड देखेर मुस्किलझैं लाग्छ। न्युरोडका गाडीको भीड जस्तै छ मान्छेको भीड। मान्छे बचाउन चक्कु चलाउने जगदीश अपरेसन थिएटरमा हुने रहेछन् दिउँसो २ बजेसम्म। आफ्ना भन्नेको ज्यान बचाउन बिरामी कुरुवाको कँुदाकँुद देख्दा लाग्छ पीडा बोकेका मान्छे हतारमा हुन्छन्। सबैको अनुहारमा मलीन करुणा देखिन्छ।

जगदीशलाललाई यसअघि भेटेको थिइन। अहिलेसम्म भेटघाट नभएकाले चिन्न गाह्रो छ। गोरो अनुहारका सफा पोसाकको मान्छे हाँस्दै आफ्नो छेउतिर आउँदा थाहा भयो उनै रहेछन् जगदीशलाल वैद्य। कुराकानीका क्रममा आफूलाई लागेको जिज्ञासा सोधें। एउटा डक्टरले सधैं पीडासँग खेल्नुपर्छ तैपनि किन ऊ हँसिलो सुखिलो देखिन्छ ? भनिहाले डक्टरले बिमारीको पीडा कम गर्न गरेको उपचारले ल्याएको खुसी देख्न सक्नुपर्छ त्यसले नै उसलाई खुसी बनाउँछ।

तिहार आउँदै गरेको यो समयमा खुसीले पाला बालिन्छ। त्यस्तै पाला बालेर पढ्ने जगदीशलाल कुनै दिन आफू यति ठूलो डाक्टर बन्छु भन्ने सोचेका थिएनन्। साधारण पढाइ पढ्दै गरेका उनलाई जब डाक्टर बन्छु भन्ने मनमा लाग्यो। तब मात्र उनको पढाइले आश्चर्यजनक प्रगति गर्यो।
कुन संयोगले कसलाई छुन्छ र कति बेला को के हुन्छ सायद कसैलाई थाहा हँुदैन। आफ्नै भाइ राघवलालको पाकेको कानमा झारफुकले भँगेराको रगत र जडिबुटी कुटेर कानमा हालेको देखे जगदीशले।

झारफुकको जादुले काम गरेको हो वा समयले। धेरै समय कान दुखेर रुँदा जगदीशको मनमा आगो बल्यो। परिवारको ग्रहदशा पन्छाउन डक्टर पो बन्नुपर्ने रहेछ उनको दिमागमा यही सोच मडारियो। कहिल्यै अब्बल नबन्ने उनी बीएस्सीमा अब्बल बनेर निस्किए। सोचको त्यो बीउ बिरुवा बन्यो। बिरुवामा फल लाग्यो। वरिष्ठ डाक्टर जगदीशलाल वैद्य बनेर।
साधारण सरकारी स्कुलमा पढेका उनी डक्टर बनेको आज पाँच दशक छुनै लाग्यो। डाक्टरको पढाइ सक्नेबित्तिकै सन् १९७२ मा शान्तभवन मिसन अस्पतालमा एक वर्ष काम गरे। उनलाई सर्जन बन्ने इच्छा भयो। लन्डनमा पढ्न गए। आफू भलो त जगत भलो। यही भयो उनलाई। लन्डनमा राम्रै गरे। उनलाई त्यहीँ बस्न मन लागेन। १९८२ मा १३ अप्रिलमा नेपाल फर्के।

लन्डनमा राम्रै गरेकाले फर्कंदा उनका हातमा दुई अफर टिकट थियो। नाइजेरीया र ब्रुनाइको। आफ्नै देश जान्छु भनेर आएका उनी आकर्षक तलब नभए पनि ती दुवै देश गएनन्। आफ्नै देशमा बसे। फेरि पाटन अस्पताल ज्वाइन गरे। साढे १९ वर्ष त्यहाँ काम गरे। हेड अफ सर्जन भएर। वर्षमा १३०० जनाबाट ७००० जनासम्मको अप्रेसन गर्न सक्षम टिम बनाए।

डाक्टर सधैं हतारमा हुन्छ। उसलाई परिवारभन्दा पनि बिरामीको बढी याद आउँछ। संवेदनशील काम भएकाले यसमा प्रेस्टिज र रिस्क दुवै छ। १५ घन्टा काम गर्दा पनि उसले थाकें भन्न पाउँदैन। हप्ताको ७ दिन दशैं तिहार जतिबेला पनि स्टयान्डबाइ हुनुपर्ने। गजबको पेसा छ यो। आफू बिरामी भएर जान नसके फोनबाट भए पनि उपचार गर्नुपर्ने। बिरामी भएर बस्न नपाइने।

डाक्टरको लागि रिग्रेट भनेकै फेमेलीसँग टाइम दिन नपाउनु हो। जुन जगदीशको जीवनमा पनि भएको छ। अरू त अरू उनले छोराको ब्रतवन्ध र पास्नी नै छुटाएका रहेछन्। काठमाडौं नर्सिंङ होममा काम गर्दाताकाको कुरा हो। शहरका एक प्रतिष्ठित मान्छेको ब्लिडिङ भयो। तत्काल अप्रेसन गर्नुपर्ने थियो। उनले रातभर चक्कु चलाउँदा बिहान साढे ८ बजे मात्र अप्रेसन सफल भयो। छोराको ब्रतवन्धको साइत पनि त्यही समयमा थियो। फेरि मंगलराज ज्योतिषलाई भनेर त्यही दिन साढे दश बजे ब्रतवन्ध गराएका छन्। त्यसै गरी लन्डनमा छोराको पास्नी थियो। रोड एक्सिडेन्ट भएर ३ दिन विदा नै बस्न नमिल्ने भयो। छोराको भात खुवाइ उनको लागि कुलेलाम भयो।

आजकल डाक्टर निकै सस्तो हुँदैछ। ३० ⁄ ४० लाखका र्इंटाजस्तै भइसक्यो। पैसा भएर डाक्टर बन्ने हैन। इच्छा भएर मात्र बन्ने हो। यो कुरा बुझ्नैपर्ने भएको छ। एमबीबीएस सक्नेबित्तिकै पैसाका लागि कुद्ने चलन बढ्दो छ। त्यस्ता डाक्टरलाई जगदीशको सल्लाह छ– ‘एमबीबीएसपछि एमएस् र त्यसपछि स्पेसल गर्नुपर्छ। २० वर्ष लाग्छ एउटा राम्रो डाक्टर बन्न। पैसाको पछि लागेर हिडने हैन पैसालाई पछि लगाउने हो।ु

डाक्टर भएपछि सक्सेसफुल हुनु जरुरी छ। थ्यौरी भएर मात्र हुँदैन। प्राक्टिकल हुनु जरुरी छ। बिरामीले डाक्टरलाई नलेज दिन्छ। त्यसैले ऊसँग झर्कनेतर्कने हैन मायाले काम गर्नुपर्छ। बिरामीलाई परिवारझैं सम्झनुपर्छ। सिन्सयरीटी हुनुपर्छ। डेडिकेसन अप टु डेट हुनुपर्छ।ट्रेनिङ सेमिनारमा जानुपर्छ। नयाँ टेक्नोलोजीसँग जानकार हुनुपर्छ।

यिनै कुरामा पारगंत भएर होला आज जगदीशसँग नाम, दाम र इनाम टन्न छ। कुपण्डोलको एउटै कोठामा कच्याककुचुक भएर बस्ने उनी आज ढोलाहिटीमा बस्छन्। घर होटेलजस्तो छ। ८ रोपनी जग्गामा स्वीमिङ पुल पनि छ। भौतिक रुपमा उनले धेरै उन्नति गरेका छन्। उनीसँग बिटल्सलगायत ५ वटा गाडी छन्। यी सबै हुन उनलाई दशकौं लागेको छ। सायद पैसाको पछि–पछि कँुदेर लन्डनमै बसेको भए नामरहित दामका मान्छे हुन्थे होलान्। आज उनी नामसहितका मान्छे बनेका छन्।

जति सुविख्यात बन्दै गए पनि उनी अभिमानी बनेका छैनन्। उस युगमा ढुंगाले किचेको हात अहिले देखाउँदै भन्छन्– ‘दुःखको चिनो अहिले पनि छ।सुखको चिनो हुँदैन। दुःखको चिनो शरीरमै हुन्छ। त्यसैले मलाई कहिल्यै घमण्ड आउँदैन।

 

झारफुक गरी भँगेराको रगत र जडिबुटी कुटेर कानमा हालेको देखे जगदीशले। झारफुकको जादुले काम गरेको हो वा समयले। धेरै समय कान दुखेर रूँदा जगदीशको मनमा आगो बल्यो। परिवारको ग्रहदशा पन्छाउन डाक्टर पो बन्नुपर्ने रहेछ उनको दिमागमा यही सोच मडारियो। कहिल्यै अब्बल नबन्ने उनी बीएस्सीमा अब्बल बनेर निस्किए। सोचको त्यो बीउ बिरुवा बन्यो। बिरुवामा फल लाग्यो। वरिष्ठ डाक्टर जगदीशलाल वैद्य बनेर।

प्रतिक्रिया दिनुहोस्