हिमाल आरोहणको ६७ वर्षपछि शालिक शिलान्यास



 

टंकराज अधिकारी, पोखरा
हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको आधार शिविरमा आरोहणको ६७ वर्षपछि विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको शालिक शिलान्यास गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव शुरू भएको छ। विभिन्न चरणमा गरिने महोत्सवका कार्यक्रमअन्तर्गत पहिलो चरणमा बुधबार आधार शिविरमा शालिक शिलान्याससहित विभिन्न कार्यक्रम गरिएको हो।

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहण शुरू भएका कारण सधैं चासो र चर्चामा रहेको थियो । यो हिमाल र समग्र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो।

कार्यक्रमममा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका तर्फबाट उक्त क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानको माग गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारी र सांसद शारदा पौडेललाई ध्यानाकर्षणपत्र प्रस्तुत गरिएको थियो।

ध्यानाकर्षणपत्रमा पदमार्ग क्षेत्रमा लामो समयदेखि होटेल सञ्चालन गर्दै आएका व्यावसायीको भोगाधिकारको सुनिश्चितता, पदमार्गको स्तरोन्नति, होटलका कोठाको क्षमता अभिवृद्धिलगायतका विषय समेटिएको छ।

महोत्सवको बुधबार आयोजित उद्घाटन समारोहमा व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले विश्वमा नै सबैको चासो र चर्चा हुने अन्नपूर्ण हिमालजस्ता हिमश्रृङखला र अन्य पर्यटकीय सम्पदा नेपालमा रहेर पनि त्यसको उपयोग गर्न नसकेको बताए।

सांसद शारदा पौडेलले अन्नपूर्ण क्षेत्र पर्याप्त पर्यटकीय सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बताउँदै यस क्षेत्रमा हिमाली दृश्यावलोकन र पदयात्रा आदिलाई व्यवस्थित गर्न सके मात्र पनि यस क्षेत्रको आर्थिक एवं सामाजिक विकास गर्न सकिने बताइन्। महोत्सव आयोजक समितिका संयोजक ललित गुरुङले अन्नपूर्ण क्षेत्रको समग्र पर्यटकीय विकास तथा यहाँको पर्यटन प्रवद्र्धनका उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अन्नपूर्ण आधार शिविरमा गरिएको महोत्सव यस क्षेत्रको समग्र विकास एवं समृद्धिका लागि कोसेढुंगा सावित हुने बताए।

उक्त अवसरमा विश्वका प्रथम हिमाल आरोही फ्रान्सेली नागरिक मोरिस हर्जोगको शालिक शिलान्यास गरिएको थियो भने अन्नपूर्ण प्रथम आरोहणका लेजन अफिसर कर्णेल घनविक्रम राणाका परिवारका सदस्यलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्