चोरीमा संलग्न जुम्ल्याहा दाजुभाइ पक्राउ



जयकुमार महर्जन, ललितपुर
ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रमा विगत ५ वर्षदेखि चोरी कार्यमा संलग्न जुम्ल्याहा दाजुभाइलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–४ मानभवन तथा पुल्चोक क्षेत्रका विभिन्न स्थानमा चोरी कार्यमा संलग्न धादिङको सलाङ स्थायी घर भई हाल ललितपुर, बंगलामुखी बस्दै आएका जुम्ल्याहा दाजुभाइ राम पुरी र लक्ष्मण पुरीलाई प्रहरीले पक्राउ गरेको हो।

केही समयअघिदेखि महानगरपालिकाका विभिन्न वडामा चोरी कार्य बढेको भन्ने उजुरी आएपछि महानगरीय प्रहरी प्रभाग, पुल्चोकबाट विशेष टोली परिचालन गरी विभिन्न स्थानमा रहेका सीसीटिभीको फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रहरी निरीक्षक गोविन्द पन्थीले नेपाल समाचारपत्रलाई बताउनुभयो।

निरीक्षक पन्थीका अनुसार पक्राउ परेका पुरी दाजुभाइ विगत ५ वर्षदेखि चोरी कार्यमा संलग्न रहेका थिए। प्रहरीले उनीहरूको कोठामा खानतलासी गर्दा ल्यापटप १ थान, मोबाइल ३ थान गरी अन्य चोरीका सामान पनि बरामद गरेको छ। उनीहरूले गत २०७१ पुसमा थापाथलीमा रहेको मित्रलाल थोकरको इन्द्रेणी फास्टफुडबाट ३२ हजार रुपियाँ चोरेका थिए। २०७४ साउनमा कुपण्डोलस्थित एक किराना पसलको लक तोडी पसलमा रहेका खैनी तथा चुरोट चोरेर लगेका थिए। त्यसै गरी २०७४ भदौमा पुल्चोक दमकलमोडमा रहेको कर्नर फास्टफुडभित्र पसी केही पैसा चोरेर लगेका थिए।

त्यस्तै गरी यही असोज १३ गते राति पुल्चोक दमकलमोडमा रहेको एसियन बचत तथा ऋण सहकारी संस्थाको ३ लाख रुपियाँ तथा त्यहाँ रहेको नोकिया मोबाइल फोन पनि चोरेर लगेका थिए। पुरी दाजुभाइ यसअघि उक्त सहकारीसँगै रहेको एक ढावामा काम गर्ने गरेको र सहकारीमा हुने सम्पूर्ण गतिविधि नियाल्ने गरेको निरीक्षक पन्थीले बताउनुभयो। पुरी दाजुभाइले पुल्चोकको परिक्रमा टुर एन्ड ट्राभलको एउटा ल्यापटप पनि चोरेका थिए।

निरीक्षक पन्थीले प्रभागको कार्यक्षेत्रभित्र चोरी डकैती तथा अन्य आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीले २४सै घण्टा सादा पोसाकमा गस्ती गरिरहेको पनि बताउनुभयो। महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता डीएसपी नरेन्द्र चन्दले चोरीमा संलग्न पुरी दाजुभाइमाथि चोरी महलअनुसार मुद्दा चलाइने बताउनुभयो।

उहाँले निजहरूले अन्य स्थानमा पनि चोरी गरेको हुन सक्ने बताउँदै प्रहरीले यस विषयमा थप अनुसन्धान गर्दै गरेको बताउनुभयो। थप अनुसन्धानका लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्