तिहारका लागि मखमली फूलको माला गाँस्न व्यस्त छन् किसान



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरका किसान तिहारमा भाइटीकाका लागि आवश्यक पर्ने मखमली फूलको माला उन्न यतिखेर व्यस्त भएका छन्। घरको आँगन र कौसीमा सबै परिवार बसेर हात हातमा माला गाँसिरहेको देख्न पाइन्छ,। माला बिक्री गर्ने अब अन्तिम समय भएकाले यहाँका कृषकलाई भ्याइनभ्याइ भएको हो।

दिनभरमा १ जनाले १ सयदेखि १ सय ५० वटासम्म माला गाँस्ने गरेका छन्। अहिले बिहानैदेखि माला गाँस्ने र गाँसेको मालालाई बजार पुर्याउने चटारो यहाँका किसानलाई परेको छ। जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा ताथली, कटुञ्जे, दधिकोट, सिपाडोल, गुण्डुलगायत भक्तपुर नगर क्षेत्रका विभिन्न स्थानमा व्यवसायिक मखमली फूल खेती गर्न थालिएको छ।

भक्तपुरका विभिन्न स्थानमा गरी करिब ५ सय हेक्टर जमिनमा फूलखेती हुने गरेको छ। गत वर्ष मात्र भक्तपुरमा करिब ३ करोड रुपियाँभन्दा बढीको फूल बिक्री भएको थियो। यो वर्ष तिहार पर्व केही समयअगाडि परेकाले भक्तपुरका मखमली फूलको व्यावसायिक खेती गर्ने किसानलाई माला बनाउने चटारो परेको छ। एकातिर खेतमा पाकेको धान भित्त्याउने समयसमेत भएकाले तिहारको भाइटीकाको दिन लगाउने मखमली फूलको माला बनाउन व्यस्तता बढेको हो।

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानले १ रोपनीदेखि ५ रोपनीसम्मको जग्गामा मखमली, सयपत्रीलगायतका फूल लगाएका छन्।

यसवर्ष बजारमा गएर माला बेच्न नभ्याइने भएकाले घरबाटै माला बिक्री गर्न लागेको बताउँदै गुण्डुकी रामप्यारी श्रेष्ठले माला गाँस्न भ्याइनभ्याइ भएको बताउनुभयो। यहाँका करिब १ सय घरका परिवार अहिले मखमली फूलको माला गाँस्नमै व्यस्त भएको बताउँदै उहाँले बिहानदेखि राति ११ बजेसम्म पनि माला गाँस्नमै भ्याइनभ्याइ हुने गरेको बताउनुभयो।

‘तिहारपछि मालाको अर्थ नहुने भएकाले मखमली फूलको माला गाँस्ने चटारो परेको हो, धेरै फूलखेती गर्नेले त ज्याला दिएरै माला गाँस्न लगाएका छन्, ज्याला दिन थालेपछि बालबालिका पनि बिहानैदेखि माला गाँस्न व्यस्त छन्’, –गुण्डुकी मेनका कार्कीले बताउनुभयो। एउटा माला गाँसेको २ रुपियाँसम्म ज्याला दिने भएपछि फूल खेती नगर्नेहरूले पनि माला गाँसिदिने गरेका छन्।

वैशाख–जेठ महिनातिर रोपेको मखमली फूल फुल्न थालेदेखि नै फूल टिपेर माला उन्न व्यस्त रहको दधिकोट–५ तर्खगालकी लीला थापा बताउनुहुन्छ। यसरी उनेका फूलका माला तिहारअघि व्यापारीहरू घरघरमा किन्न आउने गरेको उहाँले बताउनुभयो।

तर्खगालका भरत थापाले भाइटीकाका लागि करिब २ हजारभन्दा बढी मखमली फूलको माला तयार गर्ने बताउनुभयो। गतवर्ष माला बेचेर करिब ४० हजार आम्दानी गरेको बताउँदै थापाले यस वर्ष ५० हजारसम्म कमाउने लक्ष्य लिएको बताउनुभयो। ‘अन्य खेतीभन्दा यसमा राम्रो आम्दानी हुने देखेर आकर्षित भएका हौं’, –उहाँले भन्नुभयो।उहाँका अनुसार उपत्यकालगायत बनेपा, धुलिखेल र पोखराका व्यापारीसमेत यहाँ माला लिन आउने गरेका छन्।

जग्गा भाडामा लिएरसमेत केही किसानले फूल खेती गर्ने गरेका छन्। आधा रोपनी जग्गामा मखमली फूलको २ हजारबराबर माला तयार भएको किसानले बताएका छन्।

यो वर्ष घरबाट नै व्यापारीहरूलाई प्रतिमाला २० देखि २५ सम्ममा मखमली फूलको माला खरिद गरेर लाने गरेको समेत उनीहरूले बताए। तिहारको समयमा मखमली फूलको एउटा मालाको मूल्य २० देखि ४० रुपियाँसम्म र सयपत्री फूलको मालाअनुसारको २ सय सम्म पर्ने गरेको छ। भक्तपुरको जिल्लामा चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिका– ७ मा व्यवसायिक मखमली फूलको खेती हँुदै आएको छ।

तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलको माग बढ्ने भएकाले सम्बन्धित निकायले यसरी व्यावसायीक फूलखेती गरेका किसानलाई प्राविधिक ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने हो भने नेपाल फूलमा आत्मनिर्भर हुने देखिन्छ। मानिसको दैनिक जीवन, जन्मदेखि मृत्युसम्मका लागि आवश्यक करोडौं मूल्यबराबरको फूल विबदेशबाट आयात हुने गरेको छ। भक्तपुरमा किसानले वार्षिक २ करोडभन्दा बढीको फूले बिक्री गर्दै आइहेका छन्।

मखमली फूल र तिहारको भाइटीकाको प्रसंग यमराजसँग जोडिएको छ। पौराणिक कथाअनुसार कात्तिक शुक्ल द्वितीयाको दिनमा बहिनी भेट्न गएका यमराजलाई बहिनी यमुनाले बडो भक्तिभावले पूजा गरी मखमली फूलको माला लगाइदिइन्।

तिनको भक्ति देखेर यमराजले खुसी भई बहिनीलाई वरदान माग्ने आज्ञा दिए र पूजा गरिरहेकी बहिनीले आजको दिनमा लगाइएको मखमली माला नओइलाएसम्म कसैका दाजुभाइ नमरून् भनी वरदान मागिन्।

मखमली फूल कहिल्यै नओइलाउने भएका कारण बहिनीका कुरा सुन्नासाथ यमराज जिल्ल परे, तर आफूले इच्छाबमोजिम वरदान दिने वचनबद्धता गरिसकेकोले सोहीअनुसारको बरदान दिए। यसरी भाइटीकाको अवसरमा दिदीबहिनीले दाजुभाइहरूको सुस्वास्थ्यको मंगलमय कामना गरी दीर्घजीवी होऊन् भन्ने कामनाका साथ मखमली फूलमाला पहिराउने प्रचलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्