माओवादीले सरकार छोड्नुपर्छः राणा



 

नेपाल समाचारपत्र
भक्तपुर
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन्।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै जबराले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरी सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताए।

उनले भने– ‘प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको र उपत्यकाभित्रै निर्माण व्यावसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टइएको बताउँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।’

उनले वाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान जारीपश्चात् आवश्यकता रहेको र यो देशको हितानुकूल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको विजय निश्चित रहेको बताए।

सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दै स्थिर सरकार र दिगो विकासमा टेवा पुग्ने समेत उनको टिप्पणी छ। राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुईचार दिनमै पार्टी एकता हुने उनले जानकारी दिए। नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले यसका लागि नेपालका राजनीतिक दलका नेता जिम्मेवार रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्