राजर्षि जनक विश्वविद्यालय विधेयक पारित, चिकित्सा विधेयक पेस भएन



 

नेपाल समाचारपत्र
काठमाडौं
विगत दुई दशकदेखि चर्चामा रहेको राजर्षि जनक विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको छ।व्यवस्थापिका संसद्को बिहीबारको बैठकबाट राजर्षि जनक विश्वविद्यालय विधेयक बहुमतले पारित भएपछि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ।

जनकपुरधाममा स्थापना हुने भनिएको उक्त विश्वविद्यालयमा प्राविधिक, सांस्कृतिक, कृषिलगायतका विषयमा अध्ययन अध्ययापन हुने विधेयकमा जनाइएको छ। त्यस्तै, बिहीबारकै बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानविन विशेष समितिले प्रतिवेदन पेस गरेको छ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भएको उजुरी परेपछि जेठ १३ गते संसदीय छानविन समिति गठन भएको थियो। डा. सुवोधकुमार पोखरेल, राजेन्द्रप्रसाद पाण्डे, अर्जुन जोशी, भाष्कर भद्रा र रामनारायण विडारी ५ जनाको संसदीय टोलीले अध्ययन पूरा गरेर प्रतिवेदन बुझाएको हो। पहिलो चरणको निर्वाचनमा तीन जनाको ज्यानसमेत गएको थियो।

यसै गरी सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पनि पेस भएको छ। संसद्को अर्को बैठक शुक्रबार ३ बजेका लागि बोलाइएको छ।बिहीबारको संसद बैठकअघि चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले बोलाउनुभएको बैठकमा सहमति नभएपछि विधेयक पेस हुन सकेन।

विधेयकमा सहमति जुटाउन सभामुख घर्तीले तीन दलका प्रमुख सचेतक र महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सदस्यलाई बोलाउनुभएको थियो। उक्त बैठकमा एमाले र माओवादीले सहमति गर्न अस्वीकार गरेपछि विधेयक अड्किएको हो।

प्रतिक्रिया दिनुहोस्