‘वाम एकता होईन, हाम एकता’



काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादवीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।
वाम गठबन्धन बन्ने लागेपछि काँग्रेस आफुहरुसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले भने,‘हामीलाई काँग्रेसले चुनावी गठबन्धनमा सामेल हुनको लागि आग्रह गरेको छ, हामीले त्यसलाई सहर्स स्विकार गरेका छौ, तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल कांग्रेसको कोर्टमा छ।’
उनले अघि थपे,‘काँग्रेसको उदारता र मिलाएर लैजाने क्षमतामा भरपर्छ, सरकारमा जाने नजाने कुनैपनि निर्णय भएको छैन, हामीले राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेका छौँ, काँग्रेसले राखेको प्रस्तावमाथि गृहकार्य भैरहेको छ।’
अध्यक्ष यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बीचको वैकल्पिक राजीनितक शक्तिको रुपमा विकास गरेर समाजवादी फोरमलाई उत्पीडित,मधेशी,जनजाति, थारुको उत्थान र समान न्याय, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महशुस गराउनतर्फ लाग्ने जानकारी दिए ।
उनले भने,‘सङ्घीय समाजवादी फोरम एउटा वैकल्पिक शक्ति हो, राईट एण्ड लेफ्ट बनेर उभिएका वर्तमान राजीनितक शक्ति भन्दा फरक कोणबाट उत्पीडितहरुको हितका निम्ति काम गर्नेछ।’
स्वामित्व ग्रहण गर्न लायक नभएको भन्दै विगतमा ६ वटा संविधानहरु जलेको उदाहरण दिँदै अध्यक्ष यादवले वर्तमान संविधानलाई संशोधन गर्नुपर्नेमा परिवर्तनकारीहरु उभिएको जानकारी दिए ।
उनले भने,‘वर्तमान संविधानले उत्पीडित वर्ग, महिला, जनजाति, मुस्लिम, थारु लगायतका समुदायको स्वामित्व ग्रहण गरेको छैन्, हामी समाजवादी हौं, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने हाम्रो धारणा छ, हामी उत्पीडितकै पक्षमा छौँ।’
संविधानमा प्राप्त हकअधिकारलाई ग्रहण गर्न, प्राप्त अधिकारहरु खोसिन नदिनको लागि निर्वाचनमा आफ्नो पार्टीले भाग लिएको बताए ।
उनले भने,‘हाम्रो पार्टी समाजका उत्पीडनका बिरुद्धमा छ, वर्तमान संविधानले समाजका तमाम उत्पीडितहरुका अधिकारलाई कुण्ठित गरेको छ, हामी कुनैपनि हालतमा संविधान संशोधन गरेर स्वामित्व प्रदान गर्नको लागि विभिन्न पार्टीहरु एकतामा गोलबन्ध गर्न लागि रहेका छौँ।’
नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले वाम गठबन्धनलाई हाम गठबन्धनको संज्ञा दिएका छन् ।
आफ्नो पार्टी लोकतान्त्रिक क्रान्त्रिको गर्भबाट जन्मेको भन्दै महासचिव अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए ।
उनले भने,‘हिजो आज वाम गठबन्धनको हल्ला पिटिएको छ, जुन जनताको लागि होईन, यो वाम गठबन्धन होईन, यो हाम गठबन्धन हो, जुन सक्ता शक्ति र भक्तिको लागि मच्चाईएको हल्ला हो, जनताको हितका निम्ति वाम एकता गर्न लागिएको होईन।’
महासचिव अधिकारीले भने,‘समाज परिवर्तन र उत्पीडितका मागहरु सम्बोधन गर्नको लागि लडि रहेको पार्टीसँगको एकताले समाजलाई फाईदा गर्छ, परिर्वतनकारीहरु वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुँदैछन्, आगामी दिनहरुमा उत्पीडितहरुको पक्षमा उभिनुपर्छ, त्यसैले पनि हामी एक भएका छौँ।’

प्रतिक्रिया दिनुहोस्