एनआरएनएमा भट्ट, कार्की र गुरूङबीच त्रिपक्षीय भिडन्त



काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । जमुना गुरूङले बिहीबार अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो ।

एनआरएनएको अध्यक्षका लागि यसअघि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका थिए । तर, वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना पनि मैदानमा उत्रिएपछि भिडन्त त्रिपक्षीय हुने पक्का भएको हो ।

उम्मेदवारी दिने नदिने द्विविधमा रहनुभएकी जमुनाले बुधबार बेलुका विभिन्न देशबाट आएका प्रतिनिधिसँगको भेटपछि एनआरएनए अध्यक्ष तथा आफ्ना पति शेष घलेको सपना पूरा गर्न अध्यक्ष बन्नुपर्ने निष्कर्ष निकाल्नुभएको थियो ।

घलेले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डको प्रस्ताव गर्नुभएको छ । त्यसबारे अहिले फरक फरक टिप्पणी भइरहेका छन् । जमुनाले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड कार्यान्वयनमा ल्याउन आफ्नो उम्मेदवारी जरूरी रहेको भन्दै दबाब परेकाले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

एनआरएनएको विश्व सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौँमा हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । विश्वभरका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्