प्राधिकरण र शौचालय



 

काठमाडौंको व्यस्त सडकमा यसो पिसाब लाग्दा पहिले रत्नपार्कमा पिसाब फेर्नेको लाइन नै देखेको यो धरहरालाई ताजै छ। यसो यसले आफ्नो दूरविन विद्युत् प्राधिकरणको कार्यालयतिर तेस्र्याएको त एक जना मनुवा नाक थुन्दै शौचालय छिर्दै थिए। उनी विद्युत् महसुल बुझाउन गएका रहेछन् तर पिसाबले च्यापेपछि शौचालय छिरेका उनी आफ्नै सुरमा भुतभुताउँदै थिए। महसुल लिने बेलामा भने एक पैसा पनि नछोडी अझ समयमा नबुझाए जरिवाना तिराउँदै लिन्छन् अझै उस्तै परे बत्तीको लाइन पनि काट्छन् भनी नाक खुम्च्याएको यो धरहराले देख्यो।

यसो महसुल लिने बेलामा पनि सहज बनाउने शौचालय तथा पानीको व्यवस्था राम्रो गरे प्राधिकरणको के नै जान्थ्यो र भन्दै थिए उनका गुनासा सुन्नेहरू। धरहरालाई पनि सार्वजनिक संस्थान तथा सरकारी गैरसरकारी कार्यालयहरूले आफ्ना कार्यालयमा रहेका शौचालयहरूलाई सुधार गरिदियो हुन्थ्यो भन्ने लागेको छ। सर्वसाधारण नागरिकले नाकै खुम्च्याउन पर्ने वातावरण नहोस् भन्ने धरहरालाई लागेको छ। यहाँहरूको केही सल्लाह सुझाव भए पाऊँ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्