गठबन्धनसँग कांग्रेस आत्तियोः नेम्वाङ



 

नेपाल समाचारपत्र
ललितपुर
जनताको समृद्धि र राजनीतिक परिवर्तनको स्थायित्वका लागि भएको बामपन्थी गठबन्धनबाट नेपाली कांग्रेसलगायतका गैरबामपन्थी आत्तिएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरेका छन्। बुधबार नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको पार्टी प्रवेशमा बोल्दै वर्तमान गठबन्धनले सरकार ढाल्ने कुनै योजना नबनाएको प्रष्ट्याउँदै अत्तालिन छाडेर निर्धारित मितिमा चुनाव गराउन नेपाली कांग्रेस सरकारमा सहभागी दलको ध्यान आकृष्ट गरेको बताएका छन्।

नेम्वाङले बुधबार ललितपुरमा राप्रपा परित्याग गरेका पूर्वजिविस उपसभापति कृष्णबहादुर देसारलगायतका २ सयभन्दा बढी नेता कार्यकर्तालाई स्वागत गर्दै एमाले प्रवेश गर्न ढिला गर्नेले पछुताउनुपर्ने पनि बताए। देशैभर एमाले प्रवेशको लहर भएको बताउँदै एमाले नेतृत्वको गठबन्धनले चुनावपछि दुई तिहाई ल्याएर ५ वर्ष स्थायी सरकार र जनताले खोजेको राजनीतिक सामाजिक समृद्धिको नेतृत्व गर्ने बताए।

स्थापना कालदेखि नै राप्रपासंग आबद्ध नेता देसारले राप्रपाको अवसरवादी र अस्थिर चरित्र र प्रतिगामी राजनीतिक विचारमा असहमत भएकाले राष्ट्रवादी र जनपक्षीय पार्टी एमाले प्रवेश गरेको बताए। कार्यक्रममा पूर्वडीआईजी तथा एमाले नेता नवराज सिलवालले न्यायका पक्षमा उभिन चाहने ढिलोचाँडो एमालेमा ध्रुवीकृत हुनुपर्नेमा जोड दिए।

पूर्वउपसभापति तथा हालै एमाले प्रवेश गरेका नेता बाबुकाजी प्रधानले मंसिरको निर्वाचनले ललितपुरमा कांग्रेसको दादागिरीको अन्त्य भई लालकिल्ला फर्कने दाबी गरेका छन्। जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले ललितपुरको राजनीतिक, सामाजिक तथा आर्थिक विकासका लागि सम्पूर्णरूपमा एमाले नेतृत्वको बाम गठबन्धनको विजय निश्चित गर्न ध्रुवीकरण बढिरहेको बताएका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटी सदस्य, अन्य पार्टीका २ सयभन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको जानकारी गराउँदै केही समययता जिल्लाका विभिन्न राजनीतिक समूहबाट एमालेमा प्रवेश गर्नेको संख्या बढिरहेको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृत तिमल्सिनाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्