राष्ट्रपतिद्वारा प्रयोगशाला उद्घाटन



 

नन्दराम जैशी, जुम्ला
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीकै पहिलो विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्नुभएको छ। बुधाबार आयोजित एक कार्यक्रमका बीच भण्डारीले चन्दननाथ माध्यामिक विद्यालय जुम्लाको विज्ञान संकायअन्तर्गत नवनिर्मित कर्णालीकै पहिलो विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्नुभएको हो।

भवन उद्घाटन पछि उहाँले विज्ञान संकाय बढ्ने कर्णालीका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले प्रयोगशालाबाट विशेष शिक्षा पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘जुम्लाको यर्थातलाई गहिरो ढंगबाट नियालेको छु, प्रयोगशालाको दिगो विकास र कर्णाली समृद्धिका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्दछ।’

आर्थिक समृद्धितर्फ देश उन्मुख हुनुपर्नेमा जोड दिँदै आर्थिक समृद्धिबिना देशको विकास नहुने राष्ट्रपति भण्डारीले बताउनुभयो। कर्णालीको प्राकृतिक सम्पदाले देशको अर्थतन्त्रमा सहयोग पुग्ने भन्दै प्राकृतिक सम्पदा संरक्षणमा लाग्न उहाँले सबैलाई सुझाव दिनुभयो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले विज्ञान प्रयोगशाला दुई चरणमा निर्माण भएको जानकारी दिँदै आर्थिक वर्ष २०७१⁄०७२ को निर्वाचन क्षेत्र विकास पूर्वाधार कोषबाट छुटाएको ४० लाख रकममध्ये ठेकेदारले २६ लाख बराबरको काम गरी फरार भएपछि पुनः आव २०७२⁄०७३ सांसद विकास कोषको १० लाख र विद्यालयको ३ लाख गरी जम्मा ३९ लाखमा प्रयोगशालाको निर्माणकार्य सम्पन्न भएको बताउनुभयो।

साथै राष्ट्रपति भण्डारीले चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्नुका साथै १० मिनेट लामो कृषि विशेष अवलोकन पनि गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्