मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा



एजेन्सी ।
जित्नैपर्ने दबावका बीच इक्वेडर विरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको लिओनल मेस्सीको अर्जेन्टिना विश्वकपमा छनोट भएको छ।

मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना स्वतः विश्वकपमा छनोट भएको हो। घरेलु टोलीसँग १–० गोल अन्तरले पराजित परेको अवस्थालाई उल्टाउँदै मेस्सीले ह्याट्रिक गरेका थिए।

खेलको एक मिनेट नवित्दै इक्वेडरका रोमारियो इबाराले घरेलु टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा एक गोल थप्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्याएका हुन्।

खेलको १२ औं मिनेटमा डी मारियाले दिएको पासमा मेस्सीले गोल खेललाई बराबरीमा फर्काए। २२ औं मिनेटमा डी बक्स नजिकैबाट सट प्रहार गर्दै उनले पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

खेलको ६२ औं मिनेटमा ह्याट्रिक गर्दै मेस्सीले अर्जेन्टिनाको स्थान विश्वकपमा सुरक्षित गरेका हुन्। ३५ यार्ड टाढाबाट उनले प्रहार गरेको सट गोलमा परिणत भएको थियो।

जितसँगै दक्षिण अमेरिकी समूहको अंकतालिकमा तेस्रो स्थानमा उक्लिदै अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको हो। यस समूहको शीर्ष चारमा रहेने टोली विश्वकपमा स्वतः छनोट हुने प्रावधान छ।

इक्वेडरसँगको खेलअघि अर्जेन्टिना छैठौं स्थानमा थियो। समूहको शीर्षस्थानको ब्राजिलसँग पराजित हुँदा तेस्रो स्थानको चिली छैठौं स्थानमा झरेपछि सो स्थान अर्जेन्टिनाले लिएको हो।

प्रतिक्रिया दिनुहोस्