तन्नेरीको आकर्षक थलो बन्दै “लभ्ली हिल”



 

प्रताप बानियाँ, म्याग्दी

मायालु डाँडा’ अर्थात् लभ्लीहिलका नामले चर्चित पर्यटकीयस्थल लभ्ली हिलमा हिजोआज तन्नेरीको भीड लाग्न थालेको छ। म्याग्दीको बेनी नगरपालिका–२ खबरास्थित रहेको लभ्ली हिलमा पछिल्लो समय युवायुवती आकर्षण बढ्दै गएको हो। साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँनजिकै रहेको पुरानो नाम ‘खाराको डाँडो’ अहिले ‘लभ्ली हिल’ बन्न पुगेको छ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकमा रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्ली हिलमा अहिले दिनहुँजसो सयौंको संख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। स–साना बालबालिकादेखि पाका उमेरका मानिस लभ्ली हिलमा पुग्ने गरेका छन्। ‘लभ्ली हिल’ को डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्न खास गरी तन्नेरीहरु पुग्छन्। ‘लभ्ली हिल’ बाट बेनीबजार, कालीगण्डकी र म्याग्दीखोला, सदरमुकाम आसपासका अन्य क्षेत्र निकै आकर्षक र मनमोहक देखिन्छन्।



लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शितलको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ। विगतका समयमा केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्ली हिल बनेपछि समूह–समूह बनाएर दैनिकरूपमा युवा पुस्ता पुग्ने गरेका छन्। सामान्य समयमा समेत लभ्ली हिलमा मानिसको उपस्थिति देखिन्छ भने बिदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ। प्रायः कलेज उमेरका युवायुवती लभ्ली हिलमा देखिन्छन्।

लभ्ली हिलबाट वरपरको दृश्य राम्रो देखिने भएको हुँदा लभ्ली हिलको डिलमा मानिसको सुरक्षाका लागि तारजाली लगाउनुपर्ने आवश्यकता रहेको लभ्ली हिल घुम्न पुगेका म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोविन्द शर्माले बताउनुभयो। पूर्वाधार निर्माणसँगै पछिल्लो समय पर्यटकीय तथा रमणीयस्थल लभ्ली हिल पर्यटक आकर्षणको केन्द्र बनेको छ। खबरामा रहेको ‘लभ्ली हिल’ आन्तरिक र बाह्य पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै जान थालेको हो।

खास गरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’ का रूपमा परिचित लभ्ली हिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ। लभ्ली हिलको विकासका लागि उपयुक्त पदमार्गको निर्माण गर्नुपर्ने बेनीका युवा रमेश गिरी बताउनुहुन्छ।

बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ। यसै गरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको समेत अवलोकन गर्न पाइन्छ। बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्ली हिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरुले माग गरेका छन्। लभ्ली हिल पुग्नका लागि पदमार्ग, रेस्टुरेन्ट, भ्यु टावर, स्विमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रूपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको छ।

लभ्ली हिलमा गत आर्थिक वर्ष २०७३⁄०७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको ‘लभ हिल’ पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ। कुल १२ लाखको लागतमा लभ्ली हिलमा गोलघर (भ्यु प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चलगायतका पूर्वाधारहरुको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्