एएफसी एसियन कप छनोटः नेपाल ३–० ले पराजित



नेपाल समाचारपत्र, काठमाकडौ ।
एएफसी एसियन कप् अन्तर्गतको छनोट चरणको खेलमा नेपाल ताजकिस्तानसँग ३–० ले पराजित भएको छ ।

घरेलु टोली ताजकिस्तानले सबै गोल पेनाल्टी मार्फत नै पाएको थियो । पहिलो हाफमा अनन्तको ह्याण्डबलमा पेनाल्टीमा गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा अनन्त तामा फलमा अर्को पेनाल्टी पाएको थियो । दोस्रो हाफमा आदित्य चौधरीले फल गरेपछि ताजकिस्तानले अर्को पेनाल्टी पाएको थियो ।

गोलकिपर किरण कुमार लिम्बुले खेलको सुरुआती १० मिनेट भित्र दुई उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई अग्रता लिनबाट रोके । चौथो मिनेटमा अलिएभ जाहाङ्गिरको हेड मार्फतको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरेका थिए , रिबाउन्डमा भासिएभले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन ।

आठौँ मिनेटमा किरणले अन्मार्क्ड रहेका जालिलोभको बक्स भित्रबाटको कडा प्रहारलाई दाँया तर्फ डाइभ गर्दै बचाएका थिए । त्यसको लगतै ९ औं मिनेटमा ताजकिस्तानका जाहाङ्गिरको १८ यार्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो । अनन्तले ताजकिस्तानको क्रस ब्लक गर्ने क्रममा विवादास्पद पेनाल्टी पाएको ताजकिस्तानका कप्तान ड्याभरोनोभको राम्रो प्रहारमा गोल गर्दै अग्रता लियो । किरणले सही दिशा तर्फ डाइभ गरेपनि ड्याभरोनोभको शक्तिशाली प्रहारले किरणलाई बिट गरेको थियो ।

दोस्रो हाफमा अन्जन विष्टले प्रहार गरेको कर्नरमा विमलको हेड मार्फतको प्रहारलाई ताजिक गोलकिपर अबुवाजिजले रोकेका थिए ।ताजकिस्तानले ६० औं मिनेटमा दोस्रो गोल गरेको थियो । अनन्तले फल गरेपछि ताजकिस्तानले दोस्रो पेनाल्टी पाएको थियो ।

किरणले ६७ मिनेटमा अर्को उत्कृष्ट बचाउ गर्दै थप गोल गर्न रोकेपनि ८७ औं मिनेटमा ताजकिस्तानले पेनाल्टी मार्फत अर्को गोल गर्यो । आदित्यले फल गरेपछि पाएको पेनाल्टीलाई जालिलोभले गोलमा परिणत गरेका थिए ।

चार खेलमा १ अंक सहित नेपाल समूहको पुछारमा छ भने ताजकिस्तान ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लेको छ । ताजकिस्तानले दुवै जित नेपाल विरुद्ध निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्