विश्वकप आयोजना गर्न नदिन कतारमाथि प्रतिबन्ध लगाइएको पुष्टि



नेपाल समाचारपत्र, दुबई । अरब मुलुकहरुले कतारलाई विश्वकप आयोजना गर्न नदिन नाकाबन्दीको निर्णय गरेको खुलेको छ । यूएईका वरिष्ठ अधिकारीले कतारको संकट समाधानको लागि उसले सन् २०२२ मा हुने विश्वकप आयोजनाको दाबी छाड्नुपर्ने बताएका हुन् । यसअघि आतंकवादलाई साथ दिएको, इरानसँगको सम्बन्ध बढाएकोलगायतका मुद्दाहरु लगाउँदै नाकाबन्दी गरिएको भए पनि विश्वकपको मुद्दा छाडे नाकाबन्दी खुला गरिने संकेत यूएईले गरेको हो ।

अहिले पनि कतारमाथि यूएई, साउदी अरेबिया, बहराइन र इजिप्टको प्रतिबन्ध जारी रहेको अवस्थामा यूएईको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो । गएको जुन ५ मा उनीहरुले कतारमाथि प्रतिबन्धको निर्णय गरेका थिए ।

यसअघि पनि अरब मुलुकहरुले कतारलाई यो मुद्दा छाड्न आग्रह गरेका थिए तर कतारले भने जसरी पनि विश्वकप आयोजना गर्ने बताउँदै आएको छ । यूएईको तर्फबाट आएको यो अभिव्यक्तिमा भने कतारले कुन प्रतिक्रिया दिएको छैन ।

यूएईका अधिकारीले गरेको ट्वीटमा यदि विश्वकप कतारभन्दा बाहिर हुने निश्चित भएको खण्डमा यो संकट त्यसै समाधान हुने उल्लेख गरिएको छ । कतारका आलोचकहरुले विश्वकपको आयोजनाको अनुमति लिनको लागि भएको भ्रष्टाचार तथा अहिले विश्वकप आयोजनाको लागि निर्माण हुँदै गरेका संरचनाहरुमा श्रमिकहरुको अवस्था देखाउँदै आएका छन् ।
–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्