एन्फाको विधान संशोधन, थ्रीस्टारले क्षतिपूर्ति पाउने



File photo of ANFA logo. Photo: THT

काठमाडौं, (नेस) ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको विशेष साधारणसभाले विधान संशोधन गर्दै थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय बहुमतद्वारा पारित गरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिको उपस्थितमा सो निर्णय लिइएको हो। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संशोधन समितिका संयोजक मणि कुँवरले पेस गरेको विधान संशोधन र थ्रीस्टारलाई क्षतिपूर्ति दिइनेबारे सकारात्मक निर्णय भएको हो।

एन्फाले ललितपुरे क्लबलाई १ करोड ५० लाख राशिको क्षतिपूर्ति दिने पहिल्यै निर्णय भएको थियो। तर साधारणसभामा बहुमतले पारित गर्नुपर्ने नियमले थ्रीस्टारले क्षतिपूर्ति पाउन ढिलाइ भएको एन्फाका सीईओ इन्द्रमान तुलाधरले बताए। अब एन्फाले थ्रीस्टारलाई तीन किस्तामा मंसिर १० गतेभित्र क्षतिपूर्ति रकम उपलब्ध गराउनेछ।

एन्फाका पदाधिकारीको महा गल्तीका कारण थ्रीस्टारले एएफसीकपको दोस्रो चरणको खेल खेल्न नपाएको थियो। यसै विषयमा थ्रीस्टारले एन्फासँग ६ करोडको क्षतिपूर्ति मागेको र कुनै पनि प्रतियोगितामा सहभागी नजनाउने निर्णय लिएको थियो। साथै दोषीमाथि कारबाहीको पनि क्लबले माग गरेको थियो। एन्फाले यसअघि छानविन समिति बनाएर एन्फाका महासचिव धीरेन्द्र प्रधान तथा अन्य दुई पदाधिकारी गोकुल थापा र वसन्त रिजाललाई कारबाहीका लागि सिफारिस गरेको थियो। दुवैलाई १५ दिनका लागि मात्र निलम्बन गरियो पनि। अहिले उनीहरूको निलम्बन पनि फुकुवा भइसकेको छ।

यसै गरी विशेष साधारणसभाले आगामी पुस ८ गते नयाँ कार्यसमितिको निर्वाचन गरिने निर्णय पनि गर्यो। सो निर्वाचनमा उम्मेदवार बन्न पाउने केही व्यवस्थाहरू पनि अगाडि ल्याइएका छन्। पाँच वर्ष फुटबलमा रही दुई वर्ष सक्रिय रूपमा लागेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुने पाउनेछन्।

यस्तै यसअघि महिला समिति हटाउने निर्णय भएकामा हिजोको साधारणसभाले सो समिति कायमै राख्ने व्यवस्था गरेको छ। त्यस्तै निर्वाचनको मताधिकार दुईबाट तीनमा पुर्याइएको छ। मताधिकार पाएका ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ९ बी डिभिजन क्लब र ५ सी डिभिजन क्लब तथा विभिन्न चार समितिले निर्वाचनको समयमा तीन÷तीन पदाधिकारी पठाउन सक्ने नयाँ व्यवस्थामा लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्