दुई दशकपछि इजिप्ट विश्वकपमा



कायरो, (एजेन्सी) ।
झन्डै साढे दुई दशकपछि अफ्रिकी राष्ट्र इजिप्ट आगामी वर्ष रसियामा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ।

विश्वकपको अफ्रिकी महादेशको छनोट खेलमा कंगोलाई २–१ ले पराजित गर्दै इजिप्ट विश्वकपका लागि छनोट भएको हो। इजिप्ट अघिल्लो पटक सन् १९९० को विश्वकपमा सहभागी भएको थियो। आइतबार राति भएको निर्णायक खेलमा इजिप्टलाई विश्वकपमा पुर्याउन लिभरपुलका विंगर मोहमद सलाहले दुई गोलको योगदान गरेका थिए।

इजिप्टका लागि रसियाको टिकट कटाउन उक्त खेल जित्नै थियो। थपिएको इन्जुरी समयको पाँचौं मिनेटमा सलाहले निर्णायक गोल गरेका थिए। प्राप्त पेनाल्टी प्रहारमा गोल गर्दै सलाहले इजिप्टलाई विश्वकपमा पुर्याएपछि देशभरि नै विजय उत्सव मनाइएको छ।

यसअघि खेलको पहिलो हाफ गोलविहीन बनेको उक्त खेलको ६१औं मिनेटमा सलाहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर खेलको ८७औं मिनेटमा आर्नोल्ड बौका मोटुवाले कंगोका तर्फबाट बराबरी गोल फर्काउन सफल भए। बराबरी गोल फर्काएसँगै घरेलु रंगशालामा उपस्थित दर्शकहरू शान्त भएका थिए। जसलाई ९५औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै उत्सवमा बदलिदिए। नाइजेरियापछि आगामी वर्ष रसियामा आयोजना हुने फिफा विश्वकपमा स्थान बनाउने इजिप्ट दोस्रो अफ्रिकी देश बनेको छ।

पोल्यान्ड पनि छनोट

विश्वकप छनोटअन्तर्गत युरोपियन क्षेत्रबाट पोल्यान्डले पनि रसियाको टिकट कटाउने भएको छ। आइतबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ४–२ गोलले हराउँदै पोल्यान्ड समूह ‘ई’को शीर्ष टोली हुँदै सीधै विश्वकपमा छनोट भएको हो। वार्साको घरेलु मैदानमा टोलीको जितका लागि क्रिजिस्टफ मेकजानस्कीले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्कीले एक गोलको योगदान दिएका थिए। यो समूहबाट डेनमार्कले प्लेअफ खेल्न तय गरेको छ। टोलीले रोमानियासँग १–१ बराबरी खेलेको थियो।

जर्मनीको शतप्रतिशत नतिजा
विश्वकप छनोटअन्तर्गत अन्तिम खेल (१०औं खेल)मा अजरबैजानलाई ५–१ ले हराएर जर्मनीले शतप्रतिशत नतिजा आत्मसात गरेको छ। यसरी विश्वकपअन्तर्गत छनोट चरणमा सबै खेल जित्ने जर्मनी स्पेनपछि पहिलो टोली पनि बनेको छ। स्पेनले सन् २०१० विश्वकप छनोटअन्तर्गत सबै खेल जितेको थियो।

विश्व च्याम्पियन जर्मनीको जितमा लियोन गोरेट्काले दुई गोल गर्दा स्यान्ड्रो वेंगर, एन्टोनियो रुडिगर र इम्री क्यानले १–१ गोलको योगदान दिए। समूह ‘सी’कै अर्काे खेलमा नर्वेसँग १–० ले पराजित भए पनि उत्तरी आयरल्यान्ड प्ले अफलाई छनोट हुन सफल भएको छ। हारपछि पनि समूहको दोस्रो स्थानमा रहेको आयरल्यान्डको १० खेलबाट १९ अंक रहेको छ। यो समूहकै अर्काे खेलमा चेक रिपब्लिकले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाले पनि विश्वकपमा पुग्न सकेन।

 

विश्वकपमा छनोट टोली
रसिया, जर्मनी, स्पेन, इंग्ल्यान्ड, ब्राजिल, दक्षिण कोरिया, इरान, साउदी अरेबिया, जापान, नाइजेरिया, इजिप्ट, पोल्यान्ड, मेक्सिको, बेल्जियम, कोस्टारिका

प्रतिक्रिया दिनुहोस्