ढाका, (एजेन्सी) ।
म्यान्मारको हिंसाको कारण भागेका अल्पमत रोहिंग्या मुस्लिम चढेको एउटा डुंगा बंगलादेशनजिक पल्टिँदा कम्तीमा १२ व्यक्तिको ज्यान गएको बंगलादेशी अधिकारीहरूले सोमबार बताएका छन्।
आइतबार राति नाफ नदीमा भएको सो दुर्घटनामा थुप्रै मानिस हराइरहेको बताइएको छ। सो डुंगामा बालबालिकासमेत गरी करिब एक सय व्यक्ति सवार रहेको बताइएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको छ।
म्यान्मारको रखाइन राज्यमा सैनिक कारबाही हुँदा छिमेकी राष्ट्र बंगलादेशतर्फ भाग्ने क्रममा यसअघि नै दर्जनौं रोहिंग्याको ज्यान गइसकेको छ। अधिकारीहरूले अहिलेसम्म १० जना बालबालिका एकजना महिला र एकजना पुरुषको शव फेलापरिसकेको जनाएका छन्।
सेप्टेम्बरको उत्तरार्धतिर यस्तै घटनामा करिब ६० जना रोहिंग्याको ज्यान गइसकेको बताइएको छ। रोहिंग्या मुस्लिमहरू स्थल र जलमार्ग प्रयोग गरी म्यान्मारबाट बंगलादेशमा भाग्ने गरेका छन्।
बौद्ध समुदायको आक्रमणको तारो बन्न पुगेका करिब ५० लाख रोहिंग्यालाई म्यान्मार सरकारले नागरिकता दिन अस्वीकार गरेको छ। अन्तर्राष्ट्रिय समुदायले पनि म्यान्मारमा सरकारी फौजले मानवाधिकार उल्लंघन गर्दै जातीय सफाया गरिरहेको आरोप लगाउँदै नेतृ आङ सान सुकीको ध्यान आकृष्ट गर्दै आएको छ।
यसै विवादास्पद विषयका कारण यस वर्ष सुकीले अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको वार्षिक महासभामा भाग नलिने निर्णय गरेकी थिइन्।