दिवालीमा दिल्लीमा पटाका प्रतिबन्धित



नयाँदिल्ली, (एजेन्सी)
हिन्दूहरूको महान् चाड दिवालीको सम्मुखमा सोमबार भारतको सर्वोच्च अदालतले राजधानी दिल्लीमा पटाकामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अदालतले पटाकामाथिको प्रतिबन्धको कारण विश्वमै सबैभन्दा प्रदूषित शहरको रूपमा बदनाम दिल्लीको वायुको गुणस्तरमा सकारात्मक परिवर्तन हुन्छ कि हुँदैन भन्ने परीक्षण गर्न खोजेको जनाएको छ।

पटाकाको विक्रीवितरण र प्रयोगमाथि आगामी १ नोभेम्बरसम्म प्रतिबन्ध लगाउन आदेश दिइएको छ। दिवाली १८ अक्टोबरमा पर्दछ। देवताले दानवमाथिको विजय उत्सवका रूपमा उत्तर भारतमा दिवाली मनाइने गरिन्छ।
सन् २०१६ को नोभेम्बरमा पहिलो पटक लगाइएको यससम्बन्धी प्रतिबन्धलाई पुनः लागू गर्न अनुरोध गर्दै सर्वोच्च अदालतमा थुप्रै याचिकापत्र दायर गरिएको थियो। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले आफूले पनि यो प्रतिबन्ध पुनस्र्थापित गराउन चाहेको जानकारी अदालतलाई दिएको छ।

तर पहिल्यै पटाका खरिद गरिसकेकाले भने मज्जासँग तिनको प्रयोग गर्न सक्ने पनि बताइएको छ। गत वर्ष भने दिवाली सकिएपछि मात्र अर्थात् दिल्लीको वायु प्रदूषण अनियन्त्रित भइसकेपछि मात्र पटाकामाथि प्रतिबन्ध लगाइएको थियो।

पटाकाबाट निस्कने निस्सासिने धुँवाको कारण गत वर्ष दिल्ली सरकारले तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने आदेश दिएको थियो। विगतमा सरकारले दिवालीको समय कम परिमाणमा पटाका प्रयोग गर्न जनतालाई मौखिक सुझाव दिने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्