डीपीएल क्रिकेटलाई रुस्लानको साथ



 

नेपाल समाचारपत्र
काठमाडौं
धनगढी प्रिमियर लिगको दोस्रो संस्करण (डीपीएल–२) आयोजनाका लागि विजय डिस्टिलरीको रुस्लान क्रिकेटले साथ दिने भएको छ।

डीपीएल र रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो। सम्झौतासँगै रुस्लान क्रिकेट डीपीएल–२ को मुख्य प्रायोजकसमेत बनेको छ। सम्झौतामा डीपीएलका तर्फबाट अध्यक्ष सुवासबहादुर शाही र विजयी डिस्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर्ष शमशेर जंगबहादुर राणाले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार रुस्लान क्रिकेटले डीपीएललाई कुल ७० लाखको प्रायोजन गर्ने भएको हो। जसअनुसार ३५ लाख नगद तथा बाँकी ३५ लाख बराबरको आवश्यक सामग्रीहरू उपलब्ध गराउनेछ। सम्झौता कार्यक्रममा बोल्दै जावलाखेल ग्रुपका अध्यक्ष राणाले काठमाडौं केन्द्रित मात्र नभई मोफसलका ठूला प्रतियोगिताहरूमा पनि प्रायोजन गर्ने नीतिअनुसार डीपीएलसँग सहकार्य गरेको बताए।
कार्यक्रममा उपस्थित नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मोफसलमा सञ्चालन भएको डीपीएल नेपाली खेलाडीकै लागि ठूलो अवसर भएको र डीपीएल खेल्न पाउनु राष्ट्रिय टिममा परे बराबर भइसकेको प्रतिक्रिया दिए।

विजेताले २५ लाख पाउने
आगामी माघ ५ गतेदेखि आयोजना हुने धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको विजेताले २५ लाख पुरस्कार पाउने भएका छन्। पुरस्कार राशी पहिलो संस्करणभन्दा १० लाख बढाइएको हो। प्रतियोगिताको उपविजेताले १० लाख तथा तेस्रो र चौथो हुने टोलीले क्रमशः ३ र २ लाख पुरस्कार पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन्। म्यान अफ द सिरिजले अपाचे मोटरसाइकल पुरस्कार पाउनेछन्। प्रतियोगिताको अनुमानित बजेट ३ करोड छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले अक्सनमा आधारित राष्ट्रिय टी–२० प्रतियोगिता धनगढी प्रिमियर लिग डीपीएलको दोस्रो संस्करणको आयोजना मिति सार्वजनिक गरेको हो। डीपीएल–२ मा बढीमा आठ टोलीको सहभागिता रहने एकेडेमीले जनाएको छ। अघिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी टोलीको घोषणा र अक्सन मंसिरमा गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा नाम दर्ता गर्नेछन्। दर्ता भएका खेलाडीलाई मात्र अक्सनमा समावेश गरिनेछ। प्रतियोगिताका खेलहरू धनगढीस्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा हुनेछ। वैकल्पिक मैदानको रूपमा निर्माणाधिन फाप्ला क्रिकेट मैदानलाई तयार गरिनेछ।

प्रतियोगितामा सहभागी सबै टिमबीच लिग खेल खेलाइनेछ भने लिगमा शीर्ष चार स्थान ओगट्ने टोलीबीच प्लेअफ खेलाइनेछ। प्लेअफमा शीर्ष दुई टिमबीचको विजेता फाइनलमा पुग्नेछ। त्यस्तै पराजित टोलीले तेस्रो र चौथो टिमको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्