नेप्सेमा साउदको सम्भावना बलियो



 

काठमाडौं, (नेस)
पुँजी बजारको नियमक निकाय नेपाल स्कट एक्सचेन्ज (नेप्से) ले सोमबार नयाँ नेतृत्व पाउने सम्भावना देखिएको छ। मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले नेप्सेको महाप्रबन्धकमा नियुक्ति गर्ने तयारी गरेको बताइएको छ।

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले अवकाश पाएपछि खाली रहेको पदमा अर्थ मन्त्रालयको छनोट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो। छनोट समितिले करिब एक दर्जन आकांक्षीमध्येबाट नेपाल इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, ज्योति विकास बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली र प्रोफेसर प्रमोदराज शर्मालाई सिफारिस गरेका थियो।

नेप्सेका निवर्तमान महाप्रबन्धक सीताराम थपलिया सर्ट लिस्टिङमा नै नपरेको तथा अर्का बलियो दाबेदार ज्ञवाली प्रक्रियाबाट नै बाहिरिन खोजेको हुनाले नेप्सेको महाप्रबन्धकमा साउदको सम्भावना बलियो रहेको स्रोतले बतायो।

चन्द्रसिंह साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा २४ वर्ष काम गरेको अनुभव छ। उक्त कम्पनीमा २०५१ सालमा छैठौं तहमा प्रवेश गरेका साउदले प्रमुख कार्यकारी अधिकृत हुँदै २०७३ मा अवकाश पाउनुभएको थियो। एमबीएस गर्नुभएका साउद हाल अध्यापन पेशा अंगालिरहनुभएको छ। साउदलाई पुँजी बजारमा परिवर्तन ल्याउन सक्ने र समयनुकूल अगाडि बढाउन सक्ने उम्मेदारवारका रूपमा हेरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका प्रमोदराज शर्मा पनि २१ वर्षदेखि शिक्षण पेशामा हुनुहुन्छ। भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशक समेत भएर काम गरिसम्नुभएका शर्माले युवा तथा खेलकुद मन्त्रालयका विभिन्न समितिमा रही काम गर्नुभएको छ।
ज्योति विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत मनोज कुमार ज्ञवालीले नेपाल राष्ट्र बैंकको लगानी शाखामा सहायक निर्देशकका रूपमा ५ वर्ष काम गरेको अनुभव छ। उहाँको ग्लोबल आईएमई क्यापिटलमा प्रबन्ध सञ्चालकको समेत रही ७ वर्ष काम गर्नुभएको थियो। छनोट भएकामध्ये यी ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषद्ले महाप्रबन्धकमा नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्