जितसँगै पोर्चुगल विश्वकपमा छनोट नजिक



एजेन्सी ।

युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान खेलबाट २७ अंक रहेको छ ।

पोर्चुगललाई जिताउन रियल म्याड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा बेन्चमा रहेको रोनाल्डो दोस्रो हाफको शुरुमै मैदान प्रवेश गर्दै गोल गर्न सफल भएको हो । रोनाल्डोले ४६ औं मिनेटमा गिल्सन मार्टिन्स्को स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । रोनाल्डोले जोओ मारियोको पासलाई गोलमा परिणत गरेका थिए । छनोट खेलमा रोनाल्डोको यो १५ औं गोल हो ।

घरेलु टोली एन्डोरामाथि एकपछि अर्को आक्रमण बुनेको पोर्चुगलका लागि ८६ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै अग्रता दोब्बर पार्यो । सिल्भाले दाया क्षेत्रबाट ड्यानिलोले दिएको पासलाई सदुपयोग गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन नसक्दा पोर्चगलले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अब पोर्चुगलले समूहको शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डसँग बुधबार राति खेल्दैछ । खेल पोर्चुगलमा हुदैछ । यो खेलमा जित हात पारे पोर्चुगल सिधै विश्वकपलाई छनोट हुनेछ ।

यही समूहको अर्को खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डले हंगेरीलाई ५–२ को गोल अन्तरले पराजित गर्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा फरोह आइल्याण्ड र लातभियाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्