रोड टु रसिया एक सेरोफेरो



 

लन्डन, (एजेन्सी)

आगामी वर्ष रसियामा हुने फिफा विश्वकपमा आयोजक राष्ट्रसँगै अन्य १० टोलीले खेल्ने पक्का गरेका छन्। डिफेन्डिङ च्याम्पियन जर्मनी, विश्वकप २०१० च्याम्पियन स्पेन, १९६६ विश्वकप च्याम्पियन इंग्ल्यान्डले आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेको स्थिति छ। तर १९७८ र १९८६ विश्वकप च्याम्पियन अर्जेन्टिनाको हालत भने खराब चलिरहेको छ। स्टार खेलाडी लियोनल मेसी, सर्जियो अग्युरोजस्ता खेलाडी भएको यो टोली दक्षिण अमेरिकी समूहमा छैठौं स्थानमा रहेको छ। जबकी पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले भने शीर्ष स्थानमा रहेर अर्को एउटा विश्वकप खेल्ने तय गरेको छ। विश्वकपमा ब्राजिल मात्रै यस्तो टोली हो कि सन् १९३० देखि लगातार सहभागिता जनाइरहेको छ।

यस्तै अन्य पूर्व च्याम्पियनमा उरुग्वे पनि रसियाको टिकट कटाउन लगभग सफल हुने पक्का छ। दक्षिण अमेरिकी समूहमा उरुग्वे दोस्रो स्थान छ। यो समूहका शीर्ष चार टोली सीधै विश्वकपको लागि छनोट हुने प्रावधान रहेको छ। अर्को विश्वकप च्याम्पियन इटाली भने स्पेन रहेको समूहमा दोस्रो स्थानमा रहेको छ। स्पेन शीर्ष स्थानलाई कायमै राखी आगामी विश्वकपमा छनोट भइसकेको छ। यसैले इटालीले प्लेअफ खेल्नु पर्ने स्थिति बनेको छ।

एसिया महादेशबाट जापान, दक्षिण कोरिया, साउदी अरेबिया र इरानले विश्वकपमा छनोट हुन पाएका छन्। यसै गरी कनकाफबाट मेक्सिकोले विश्ककप खेल्ने तय भइसकेको छ। युरोपियन टोली बेल्जियमले पनि रसियामा सहभागि हुने ३२ टोलीभित्र आफूलाई सामेल गरेको छ। युरोपबाट समूहको शीर्ष टोली छनोट हुने प्रावधान रहेको छ। ९ समूह विजेता टोली पुगेपछि नौ रनरअपबाट आठ उत्कृष्ट टोलीको छनोट हुनेछ। यी रनरअपको प्लेअफ खेल नोभेम्बरमा हुनेछन्।

यस्तैमा युरोकप २०१६ को च्याम्पियन पोर्चुगल पनि विश्वकपमा पुग्न प्लेअफ खेल्नु पर्ने संभावनातिर अग्रसर रहेको छ। रियल मेड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल समूहको शीर्ष टोली स्विजरल्यान्ड भन्दा तीन अंकले पछि परेको छ। यदि मंगलबार हुने खेलमा स्विजरल्यान्डलाई हराएमा पोर्चुगल सीधै विश्वकपमा पुग्ने सम्भावना पनि जीवितै रहेको छ।

यस्तै वेल्स, उत्तरी आयरल्यान्डले आ–आफना समूहमा शीर्ष दुईमा आफूलाई उभ्याउने पक्का छ। वेल्स सन् १९५८ पछि विश्वकपमा खेल्न कोसिसमा लागेको छ। स्कटल्यान्डले सन् १९९८ पछि फेरि विश्वकपमा छनोट हुन अवसर जुटाउन कम्मर कसिरहेको छ। आइतबार हुने स्लोभेनियाविरुद्धको खेलमा स्कटल्यान्डले जित हात पारेमा दोस्रो स्थान पक्का हुनेछ।

अर्कोतिर नेदरल्यान्डस् सन् २०१८ को विश्वकपमा पुग्न ज्यादै संघर्ष गरिरहेको टोली हो। यो टोली ३ पटक विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अभागि टोली समेत हो। नेदरल्यान्डस् आफनो समूहमा फ्रान्स र स्विडेनपछि तेस्रो स्थानमा रहेको छ। फ्रान्स १९९८ विश्व च्याम्पियन टोली हो। फ्रान्स पनि सम्भवतः सीधै विश्वकपमा छनोट हुने तरखरमा रहेको छ।

आइसल्यान्डको गरम चर्चा
आइसल्यान्ड १ सानो द्विप राष्ट्र हो। आइसल्यान्डले गत वर्ष फ्रान्समा आयोजित युरो कप २०१६ मा पहिलोपटक प्रमुख प्रतियोगितामा डेब्यु गरेको थियो। अब यो सानो देखिएको टोली समूहमा शीर्ष स्थानमा रहेको छ। शुक्रबारको खेलमा पनि टर्कीलाई समेत हराएर शीर्ष स्थान अझै बलियो बनाउन सफल भएको छ। आईसल्यान्डले विश्वकपमा पुगेर अर्को इतिहास रच्न आतुर भइरहेको छ।

नाइजेरिया विश्वकप निकट
अफ्रिका महादेशबाट नाइजेरिया विश्वकपमा पुग्न निकट भएको छ। यदि पुगेमा यो नाइजेरियाको छैठौं विश्वकप यात्रा हुनेछ। जबकि इजिप्टले सन् १९९० पछि विश्वकपमा पुग्न जोडतोड गरिरहेको छ। तर अफ्रिकीकप विजेता क्यामरुन भने विश्वकप यात्रा गर्न अक्षम भएको छ। अफ्रिकी समूहमा प्लेअफ खेलाइने छैन। पाँच छनोट समूहका शीर्ष टोली विश्वकपमा पुग्ने प्रावधान रहेकोमा टुनिसिया, आइभोरि कोस्ट र बुर्किना फासो हाल समूहका शीर्ष टोली हुन्।

आगामी शेड्युल यस्तो छ
१७ अक्टोबरः युरोप प्लेअफ ड्र (जुरिक)
९–११ नोभेम्बरः प्ले अफ पहिलो लेग
१२–१४ नोभेम्बरः प्ले अफ दोस्रो लेग
१ डिसेम्बरः समूहको ड्र
१४ जुन–१५ जुलाइः विश्वकप

प्रतिक्रिया दिनुहोस्