इरान जाने फुटसल टोलीको घोषणा



 

नेपाल समाचारपत्र
काठमाडौं
इरानमा यही असोजमा हुने फुटसल च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ। शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टोली घोषणा गरेको हो। गत भदौमा समाप्त भएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट उक्त टोली घोषणा भएको हो। जसमा शंखमुल फुटसलबाट सबैभन्दा बढी चार खेलाडी छनोट भएका छन्। खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र विष्णु गुरुङले गरेका थिए।

इरानमा यही अक्टोबर १३ देखि २२ तारिखसम्म हुने फुटसल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान जस्ता टोली छन्। जसमा उज्बेकिस्तान गत संस्करणको रनर अप टोली हो। समूहका शीर्ष दुई टोलीले अर्को चरणमा स्थान पाउनेछन्।

नेपाली टोलीः शंखमुल फुटसलका निर्मल गुरुङ, सुरज राउत, अनिष श्रेष्ठ र अभय राना, ढुकु फुटसलका सुमितकुमार आले, सामाखुशी फुटसलका सौरभ थापामगर, नवीन लामा, र विनोद गुरुङ, फुटसल एरेनाका सुसन श्रेष्ठ, किकअफ फुटसलका राज शाही र मनि लामा बीजी फुटसलका अमित तामाङ, चौर रिक्रिएसन सेन्टरका सन्जोग महर्जन तथा हरिसिद्धि फुटसलका अरूज सिंह।

प्रतिक्रिया दिनुहोस्