एकताले ल्याएको उत्साह



 

दलहरूबीच तीव्र ध्रुवीकरण आइरहेका बेला मधेसवादी दलहरू पनि सके एकीकरण नसके आगामी मंसिरमा हुने दुई तहको निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । नेकपा एमाले, नेकपा मओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेलसहित पार्टी एकीकरणसम्मका सहमति गरेर अगाडि बढेपछि नेपाली कांग्रेसको नेतृत्वमा अर्को लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो ।

लोकतान्त्रिक मोर्चामा एकताबद्ध भएका मधेसवादी दलहरूले छुट्टै भेला गरेर निर्वाचनमा कार्यगत एकता गरेर जाने निर्णय गरेको समाचार बाहिर सार्वजनिक भएको छ । मधेसवादी दलले तराईका थुप्रै जिल्लामा आफूहरूबीच मात्रै तालमेल गर्ने र अन्य जिल्लामा मात्रै मधेसवादी दलबाहेक अन्य दलसँग तालमेल गर्ने रणनीति सार्वजनिक गरेका छन् यसले उनीहरूको मधेसमा आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको भान हुन्छ ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको यो सहमतिपछि अन्य ठूला दललाई तराईमा निर्वाचन जित्न अप्ठेरो पर्ने परिदृश्यहरू देखा पर्न थालेका छन् । दलहरूबीचको यो ध्रुवीकरणले मुलुकमा भने उत्साह छाएको छ । अहिले संविधानमा गरिएको व्यवस्था र मुलुकमा च्याउ उम्रेझैं गरी उम्रेका दलहरू निर्वाचनमा सहभागी हुँदा आउने परिणामले मुलुकलाई अस्थिरतातर्फ लैजाने अवस्थाको अन्त्य अहिले दलहरूमा देखिएको ध्रुवीकरणले देखाएको छ । लामो समयदेखि संक्रमणकालमा फसेको मुलुक अझै कति वर्ष संक्रमणकालमा फस्ने हो त्यसको टुंगो लाग्न सकेको छैन । अहिले मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र यसलाई संस्थागत गर्नेतर्फ मुलुक अग्रसर भइरहेका बेला दलहरूबीचको ध्रुवीकरणले भने केही सकारात्मक सन्देश दिएको छ ।

पार्टी खोलेर सधैं सत्तामा रहिरहने प्रवृत्तिको अन्त्य गर्ने गरी दलहरूबीच भएको एकता र तालमेलले साँच्चै मुलुक कोल्टे फेर्ने अवस्थमा पुगेको छ भन्दा अतियुक्ति नहोला । दलहरूले मुलुकको विकासका लागि सहकार्य र एकता गरेको सन्देश सार्वजनिक गरेका छन् । यो व्यवहारमा लागू हुनुपर्दछ । सत्तामा जाने भर्याङ र व्यक्तिगत स्वार्थका लागि एकता भएको भए यसलाई दुर्भाग्य नै मान्नुपर्दछ । कामना गरौं व्यवहारमा त्यस्तो नहोस् ।

 

प्रतिक्रिया दिनुहोस्