‘सहकार्य कांग्रेससँग, एकता एमालेसँग’



 

काठमाडौं, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ।

सहमतिअनुसार आगामी निर्वाचनसम्म कांग्रेस नेतृत्वको सरकारमा नै रहिरहने बताउनुभएको हो। ‘वाम गठबन्धन, पार्टी एकता फरक विषय हो। सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो, संविधान कार्यान्वयन गर्न र निर्वाचन सम्पन्न गराउन हाम्रो पनि दायित्व छ, हामी सरकार परिवर्तनको कुनै खेलमा छैनौं, प्रधानमन्त्रीलाई यसबारेमा जानकारी गराइसकेको छु –उहाँले भन्नुभयो।

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वामपन्थी पार्टीको बीचमा चुनावी तालमेलसँग पार्टी एकताको सहमति इतिहास र राष्ट्रिय दायित्व पूरा गर्ने उद्देश्यले भएको दाबी गर्नुभएको थियो।

‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले भन्नुभयो– ‘प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौं। हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो, निर्वाचन सम्पन्न गराउन हामी प्रतिबद्ध छौं।’

उहाँले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरूपता कायम गर्न बाँकी रहेकाले बहस र छलफलमार्फत् टुंगो लाग्ने जानकारी दिनुभयो।

‘एउटा अर्काेमा विलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौं। अहिले हाम्रा आ–आफ्नै वैचारिक मान्यता कायम छन्’ –प्रचण्डले भन्नुभयो। बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरूपता कायम नगरी एमालेसँग एकता कसरी हुन सक्छ भनी प्रश्न गरेका थिए।

जवाफमा प्रचण्डले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न सांसदलाई आग्रह गर्नुभएको थियो।

जोखिम लिन तयार भएकै होः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको चुनावी तालमेल र एकीकरणको प्रक्रिया एमालेमा विलय नभएको बताउनभुएको छ।

शनिबार आयोजित पार्टी पोलिटब्युरो बैठकमा उहाँले चुनावी तालमेलसँगै एकता गर्ने सहमतिले सम्भावना र चुनौती उब्जाएको बताउँदै एमालेसँग तालमेल एकताको प्रक्रियाले प्रश्न र तरंग जन्माएको बताउनुभयो। ‘मैले जोखिम मोल्दै आएको छु, नेतृत्वले जोखिम लिन तयार भएकै हो। यो अपवादमा हुने निर्णय हो। तनाव र दबाब झेलेर पार्टी एकीकरण गर्ने तहमा पुगें। निकै ठूलो तनाव, दबाब आयो तर विचलित भइनँ’ –प्रचण्डले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्