उत्तर कोरियामा इन्टरनेट सेवा



 

सोल (एजेन्सी)
उत्तर कोरियाले हालै मात्र रुसको एक कम्पनीमार्फत नयाँ इन्टरनेट सेवा प्राप्त गरेको छ। रुसको टेलिफोन कम्पनी ट्रान्स टेलिकमले उत्तर कोरियाका लागि उक्त सेवा शुरू गरेको हो। साइबर सुरक्षा प्रदान गर्ने कम्पनी फायर आईले यसको जानकारी दिएको हो। उक्त रुसी कम्पनीले गत आइतबारदेखि उत्तर कोरियामा इन्टरनेट सेवा शुरू गरेको फायर आईले जनाएको छ। अहिलेसम्म उत्तर कोरियामा चिनियाँ कम्पनी चाइना युनाइटेड नेटवर्क कम्युनिकेसन लिमिटेड एक मात्र कम्पनी थियो, जसले उत्तर कोरियामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको थियो। परमाणु हतियारको लगातार परिक्षणका कारण उत्तर कोरियामाथि लगाइएको व्यापक प्रतिबन्दमा इन्टरनेट सेवा समावेश छैन।

परमाणु परीक्षणका कारण विश्वका शक्ति राष्ट्रहरू उक्त देशमाथि प्रतिबन्धको माध्यमबाट नियन्त्रण गर्ने प्रयास भइरहेको समयमा रुसको तर्फबाट उत्तर कोरियालाई इन्टरनेट सेवा उपलब्ध गराएको समाचार बाहिर आएको हो।

फायर आई कम्पनीको एसिया प्रशान्त क्षेत्रका प्रमुख प्राविधिक अधिकारी ब्रायस बोल्यान्डले भने – ‘रुसका माध्यमबाट उत्तर कोरियाले इन्टरनेटको अतिरिक्त सुविधा हासिल हुनुले उत्तर कोरियाको प्राविधिक क्षेत्रमा थप मजबुत हुने र उसँग कयौं नयाँ विकल्प हुनेछ।’

यस सुविधाको माध्यमबाट रुसलाई उत्तर कोरियाको इन्टरनेट ट्राफिकमा निगरानी राख्न सुविधा हुने कम्पनीले जनाएको छ। संयुक्त राष्ट्रले उत्तर कोरियामाथि पछिल्लोपटक तेल र कपडाको आयात निर्यातमा प्रतिबन्ध लगाएको थियो तर यसमा इन्टरनेट सेवा समावेश छैन।

गत शनिबार वासिङटन पोस्टमा अमेरिकी साइबर कमानको माध्यमबाट उत्तर कोरियाको सैन्य गुप्तचर एजेन्सी ह्याक गर्ने प्रयास भइरहेको समाचार प्रकाशित गरिएको थियो।

उत्तर कोरियाली प्रविधि विशेषज्ञ मार्टिन विलियमले ३८ नर्थ वेबसाइटमा उत्तर कोरियाले पाएको नयाँ इन्टरनेट सेवाका बारेमा लेखेका छन्– ‘अहिलेसम्म उत्तर कोरिया एउटै मात्र इन्टरनेट सेवामा निर्भर थियो। यो उसको लागि एक प्रकारको अनिश्चित स्थिति थियो। अर्को एउटा इन्टरनेट सेवा प्राप्त हुनुले उसँग विकल्प भएको छ।’

यसअघि सन् २०१४ मा सोनी पिक्चर्समाथि भएको साइबर आक्रमणलाई लिएर उत्तर कोरियामाथि ठूलो प्रभाव परेको थियो। उक्त घटनामा उत्तर कोरिया जिम्मेवार रहेको अमेरिकाले आरोप लगाएको थियो। सोनी पिक्चर्सले उत्तर कोरियाली नेता किम जोंग उनको हत्या षड्यन्त्रमा आधारित एक हाँस्य फिल्म ‘द इन्टरभ्यु निर्माण गरेको थियो। उक्त फिल्मलाई लिएर ठूलो विवाद उत्पन्न भएको थियो।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गत महिना उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो। चीन र रुसले पनि नयाँ प्रतिबन्धमा सहमति दिएको थियो। उत्तर कोरियाले सेप्टेम्बर ३ मा छैठौं र उसको अहिलेसम्मको सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेका थिए। उक्त परीक्षणलाई लिएर सुरक्षा परिषद्ले नयाँ प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धले उत्तर कोरियाको आयस्रोत बन्द गर्ने प्रयास भएको छ।

प्रतिबन्धले उत्तर कोरियाबाट लुगाको निर्यातमाथि रोक लगाएको छ भने निश्चित कोटामात्र कच्चा तेल आयात गर्न पाउने अनुमति दिइएको छ।

प्रतिक्रिया दिनुहोस्